एउटाको काँधबाट अर्को काँधमा उफ्रेर म्याजिक नम्बरको धाक लगाउनेका दिन गएः ओली

प्रकाशित:

वीरगञ्ज। एउटाको काँधबाट अर्कोको काँधमा उफ्रेर म्याजिक नम्बरको धाक लगाउनेका दिन गएको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका हुन्।

म्याजिक नम्बरको धाक लगाउनेका दिन जानुपर्छ भनेर नै एमाले र कांग्रेसले अहिलेको संयुक्त सरकार बनाएको ओलीले बताए। देशमा ठूला पार्टीबिचमा झगडा लगाउने, राजनीतिमा फोहोरी खेलको बदमाशी समेत भएकोले त्यसलाई अन्त्य गर्न एमाले र कांग्रेसको सरकार बनेको जिकिर उनले गरे।

‘देशको राजनीति अत्यन्त अस्थिर भयो, फोहोरी खेल बदमासी भए, ठूला पार्टीमा झगडा लगाउने काम भयो,’ उनले भने, ‘एउटाको काँधबाट उफ्रेर अर्कोको काँधमा चढेर म्याजिक नम्बरको धक्कु लगाउनेका दिन गए। त्यस्ताका दिन जानुपर्छ भनेर नै एमाले–कांग्रेसको सरकार बनेको हो।’

यस्तै, उनले मधेसका मसिहा भनिने नेताहरुसँग विकासको माग नभई संविधान संशोधनको धाराको मात्रै माग हुने गरेको बताउँदै उनले मधेसवादी नेताहरुले जनतालाई अलमलमा पारेर राखेको आरोप लगाए।

वीरगन्ज चिनी कारखाना चलाउनेबारेमा सरकारले सोचिरहेको पनि ओलिले बताए। उनले मानिसलाई उद्यमशिलताले नै धनी बनाउने भएको उद्यमशिलतामा लाग्न उनले युवाहरूलाई आग्रह गरे।

ताजा समाचार

सम्बन्धित समाचार