कञ्चनपुर। एउटा २३ सेकेण्डको टिकटक भिडिओ। जसमा राति मोटरसाइकलमा दुई जना यात्रा गरिरहेको दृश्य कैद छ।
त्यहीँ दृश्यमा एउटा आवाज गुञ्जिरहेको छ, ‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसंग लडिरहँदा मलाई हस्पिटल पु¥याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमिसंग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिन। तब तिमीलाई मेरो मायाको आभाष हुने छ। र म सधाको लागि निधाउने छुँ।’
दुई दिनअघि आफ्नो टिकटक अकाउण्टमा यस्तै भिडिओ राखेका थिए, बाजुराको बडिमालिका नगरपालिका–७ का ३० वर्षीय धर्म खत्रीले। दुर्भाग्य उनै खत्रीको बिहिबार मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहिबार बेलुकी साढे ६ बजे धनगढी–३ को लक्ष्मी नर्सरी नजिक खत्री सवार मोटरसाइकललाई अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
प्रहरीका अनुसार खत्री डोटीको शिखर नगरपालिका–११ की २५ वर्षीया शर्मिला थापाले चलाएको सु.प.प्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइकल पछाडि सवार थिए।
दुर्घटनामा चालक थापा र सवार खत्री दुवै घाइते भए। उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो।
प्रहरीका अनुसार उपचारको क्रममा घाइते खत्रीको बिहिबार बेलुकी ७ बजेतिर मृत्यु भएको हो। उनी स्वास्थ्यकर्मी हुन।
मार्तडी स्वास्थ्य चौकी बडिमालिका नगरपालिका–७ चुथीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए।
घाइते थापाको अवस्था मध्यम रहेको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ का २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।