कञ्चनपुर। नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। निकट नेताहरुका अनुसार रावल अहिले कुनै पार्टीमा प्रवेश गर्ने छैनन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कारबाही गरेपछि केही दिनमा पत्रकार सम्मेलन गरेर रावलले आफ्नो आगामी कदम बारे खुलाउने उनी निकट नेताहरुको भनाइ छ।
‘भोली या पर्सी काठमाडौँमा पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्नुहुन्छ,’ रावल निकट एमाले अछामका नेता प्रकाश शाहले भने, ‘कुनै पार्टीमा प्रवेश गर्नुहुन्न। आफ्नै नयाँ पार्टी खोल्नुहुन्छ। हाम्रो पनि अपेक्षा त्यहीँ छ।’
पत्रकार सम्मेलनपछि रावल देश दौडाहमा निस्किने छन्। रावल सुरुमा प्रभाव क्षेत्र गृह प्रदेश सुदूरपश्चिम आउने छन्। रावललाई उनी निकट नेताहरुले पार्टी खोल्नु पर्नेमा सुझाव दिइरहेका छन्।
एमालेबाट निष्काशित भएपछि रावलले आफूविरुद्ध सत्ताको उन्मादमा स्वेच्छारी र निरुकुश कमद चालिएको टिप्पणी गरेका छन्। उनले कारबाही गर्ने ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्न समेत अपिल गरेका छन्।
एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो।
२०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग रावलले प्रतिस्पर्धा गरेका थिए। तर रावल पराजित भए। ओलीको इच्छाविपरित प्रतिस्पर्धा गरेपछि रावल तारो बनेका थिए।
रावल एमालेमा माधव कुमार नेपाल निकट नेता मानिन्थे। नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्दा रावलले नेपालको साथ छोडे। १० बुँदे सहमति गर्दै रावल एमालेमै रहे।
र त्यसबेला ओलीले लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज कायम राखेर रावललाई उपाध्यक्षकै भूमिका सीमित राखे। पार्टीभित्र ओलीको कटु आलोचकको रुपमा पहिचान बनाए रावल ओलीसंग अध्यक्षमा प्रतिस्पर्धा गरेपछि पेलानमा परे।
त्यसपछि रावल एमालेमा सक्रिय भूमिका रहेनन्। यसबीचमा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय समिति बनायो।
सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समितिले रावलसंग छलफल ग-यो। तर रावल र ओलीबीचको तिक्तता मेटाउन सकेन।
०८० साउन ३० गते अध्यक्ष केपी शर्मा ओलीले रावलसँग संवाद गरेका थिए। तर रावललाई पार्टीमा काम गर्ने वातावरण सृजना हुन सकेन।
सधैजसो ओलीको विरोध र पार्टीलाई विधानसम्मत् नचलेको भन्दै आलोचन गर्ने रावल अन्ततः बुधबार एमालेबाटै लखेटिए।