कैलालीमा बोक्सीको आरोपमा नातेदारबाटै कुटिइन् २६ वर्षीया महिला

प्रकाशित:

कञ्चनपुर। कैलालीमा बोक्सीको आरोप लगाएर २६ वर्षीया महिलामाथि कुटपिट गरिएको छ।

कथित बोक्सीको आरोप लगाएर भजनी नगरपालिका–१ बौनियाकी ती महिलामाथि कुटपिट गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भजनी–१ बौनियाकै २७ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लहानु चौधरी र ३५ वर्षीया रुपा चौधरी छन्। पीडितले ६ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक युवन चौधरीका अनुसार फरार २ जनाको खोजी भइरहेको छ।

पुस ४ गते ती महिलामाथि घरमै बोक्सीको आरोपमा कुटपिट भएको थियो। कुटपिटमा संलग्न उनकै नातेदार पर्छन्। प्रहरी निरीक्षक चौधरीका अनुसार अर्को दिन पीडितले जाहेरी दिएकी थिइन्।

कुटपिटबाट महिलाको शरीरमा निलडाम छन्। घटनापछि महिलालाई उपचारका लागि भजनी अस्पताल लगिएको थियो। त्यहाँबाट रेफर गरिएकी पीडित महिलाको अहिले धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेका ४ जना विरुद्ध पहिलो पटक ५ र दोस्रो पटक १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ‘बोक्सीको आरोपमा घरमै कुटपिट गरेको जाहेरी छ, किटानीपछि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी निरीक्षक चौधरीले भने।

ताजा समाचार

सम्बन्धित समाचार