धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धन दलको बैठक बसेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठित प्रदेशस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक सोमबार धनगढीमा बसेको हो ।
एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेश सभालाई गतिशील बनाउने, रिक्त रहेका राजनीतिक नियुक्तिमा यथाशीघ्र कार्य गर्ने र बाजुरामा गएको भूकम्पबाट पीडितहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग उपलब्ध गराउने निर्णय गरेको कांग्रेसका सुदूरपश्चिम पार्टी प्रवक्ता सुरत रावतले बताए ।
बैठकमा कांग्रेसका सुदूरपश्चिम सभापति बीरबहादुर बलायर, एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको सहभागिता थियो ।