कञ्चनपुर। नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन्।

सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाई ४४ मतको अन्तरले हराउँदै विजयी भएकी हुन। ४ सय १२ मतमध्ये मलासीले २ सय १५ मत प्राप्त गरेकी थिइन् भने मल्लले १ सय ७१ मत ल्याएका थिए।

मलासी नेकपा एमालेका नेता भीम रावल निकट मानिन्छन् भने मल्ल केपी ओली निकट नेताका रूपमा चिनिन्छन्।

त्यस्तै उपाध्यक्ष पदमा खगेन्द्र बडैला विजयी भएका छन्। उनले १ सय ११ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि पारे। यो पदका लागि गणेश विष्टले १ सय ७, लक्ष्मण मलासी ९७, र चक्रबहादुर घर्ती ५८ मत प्राप्त गरे।
सचिव पदमा मलासी प्यानलका उम्मेदवार पदमबहादुर भट्टले २ सय ३७ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धनबहादुर नेपालीले १ सय १९ मत प्राप्त गरे भने झलक पालीले ६८ मतमा चित्त बुझाए।
उपसचिव (खुला) पदमा मञ्जु प्यानलका डम्मर डौडीले १ सय ५२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। मल्ल प्यानलका बमबहादुर बमले १ सय २३ मत प्राप्त गरे भने कृष्णकुमार खडका ६७ र कृष्ण दर्लामी ३४ मतमा सीमित रहे।
उपसचिव (समावेशी) पदमा मञ्जु प्यानलकी विस्ना सिंहले २ सय ८ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिस्पर्धी ससी सोपले १ सय ४६ मत प्राप्त गरिन्।
यो निर्वाचनमा मञ्जु मलासी प्यानलको वर्चस्व देखिएको छ। अध्यक्ष, उपसचिव (खुला) र उपसचिव (समावेशी)मा मञ्जु प्यानलका उम्मेदवारहरूले जित हाासिल गरेका छन्।
सचिव पदमा पनि मलासी प्यानलकै उम्मेदवार विजयी भएका छन्। पार्टीभित्रको केन्द्रमा देखिने लाइनलाई क्रस गर्दै उम्मेदवारहरूले जिल्लामा अघोषित रूपमा प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिएका थिए।