काठमाडौं । ‘मैदानमा तूफान, सुदूरको शान’ सुदूरपश्चिम रोयल्सको गीतले यस्तै भन्छन् । यही गीत जस्तै सुरूवात भयो नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सको । ‘मैदानमा दीपेन्द्रको तूफान, किंग्समाथि रोयल्सको शान’ यस्तै भयो खेलको नतिजा ।

कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेल्दै टिमलाई राम्रोसँग नेतृत्व दिएर अघि बढाए । त्यसमा अन्य खेलाडीहरुले पनि राम्रो साथ दिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले मंगलबार विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दै सानदार सुरूवात गर्यो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रको अविजित ५७ रन मद्दतमा १८२ रन बनाएको थियो । विपक्षी टिमलाई ९२ रनमा अलआउट गर्दै ९० रनको फराकिलो अन्तरले खेल जित्यो ।

बलिङमा न्युजिल्याण्डका स्कट कुगेलेइनले र अविनाश बोहराले ३(३ विकेट लिए । अलराउण्डर ब्राण्डन म्याकमुलेनले पनि किफायती बलिङ गर्दै ३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए ।
कीर्तिमानी प्रदर्शन
ब्याटिङ हेभी देखिएको सुदूरपश्चिम टिमले बिहानको कन्डिसनमा पनि त्यही अनुसार ब्याटिङ गर्यो । अनि बलिङमा कमजोर भनिएपनि मैदानमा त्यसको ठिक विपरित प्रदर्शन गर्यो ।
त्यसमाथि पनि अहिलेसम्म भएको पाँच खेलमा सुदूरपश्चिमले दुई कीर्तिमान नै बनायो । पहिलो सुदूरपश्चिमले अहिलेसम्मको अवस्थामा एनपीएलमा सर्वाधिक स्कोर बनायो । दोस्रो सुदूरपश्चिमले फराकिलो रन अन्तरको जित पनि निकाल्यो ।
त्यस खेलसम्म विपक्षीलाई कम स्कोरमा रोक्ने कीर्तिमान पनि सुदूरकै नाममा थियो । तर मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ७४ रनमा अलआउट गरेपछि कम स्कोरको कीर्तिमान भने तोडियो । यस्तै सुदूरपश्चिमका ब्राण्डन म्याकमुलेन एनपीएलमा पहिलो मेडन ओभर फाल्ने खेलाडी समेत बने ।
कप्तान दीपेन्द्रले पहिलो योजना अनुसार खेल्दा पहिलो खेल जितेको र बाँकी खेलमा पनि राम्रो गर्ने बताए । ‘पहिलो म्याच जितेका छौं । बाँकी म्याचमा राम्रो गर्दै जाने हो’ दीपेन्द्रले खेलपछि पोष्ट म्याचमा भने, ‘सुरुमा विकेट स्लो नै थियो र त्यही अनसार योजना बनायौँ । १५० भन्दा बढी बनायो भने जितिन्छ भन्ने थियो र त्यही अनुसार गर्यौँ । अन्तिममा पिचले राम्रो खेल्यो र सजिलो भयो ।’
यसैगरी कप्तान दीपेन्द्र सातौं नम्बरमा ब्याटिङ गर्दै अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । टी२० का स्पेशलिस्ट खेलाडी दीपेन्द्र बलिङ, ब्याटिङ, फिल्डिङ सबैमा उत्कृष्ट छन् । अझ रनिङ बिटविन दी विकेटका त उनी विपक्षी फिल्डरलाई आच्छुआच्छु नै बनाउँछन् ।
दीपेन्द्र क्रिजमा हुँदा ब्याटिङ पार्टनर रहेका खेलाडी पनि चनाखो हुनुपर्छ । अनी दीपेन्द्रले फिल्डिङ गर्दा विपक्षी ब्याटर झनै चनाखो हुनुपर्छ दीपेन्द्रले कहाँबाट सिधा हिट गर्छन् थाहा हुन्छ ।
तल्लो क्रममा ब्याटिङ गर्दा पनि दीपेन्द्रले ब्याट गज्जबले चल्यो । सुरुमा विनोद भण्डारीले केही आक्रमक सुरूवात दिलाएका थिए । तर त्यसपछि नियमित अन्तरमा विकेट जाँदा ८९(५ को अवस्थामा थियो । त्यसपछि दीपेन्द्र १३औं ओभरमा क्रिजमा आए । उनले सातौं नम्बरमा ब्याटिङ गरेर पनि अर्धशतक बनाए । अनि छैटौं विकेटका लागि इशान पाण्डेसँग ४९ रनको साझेदारी गरे ।
दीपेन्द्रले अन्तिम ओभरमा अर्धशतक पूरा गरेका थिए । अन्तिम दुई बल खेल्नुअघि दीपेन्द्र ४५ रनमा थिए । त्यसपछि उनले प्रतिश जिसीलाई छक्का हान्दै अर्धशतक पूरा गरे । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । जसमा ३ चौका र ५ छक्का समावेश छ । उनले ४२ रन त बाउण्ड्रीबाटै जोडे ।
अवस्था अनुसार ब्याटिङ
दीपेन्द्रले अवस्था हेरेर आफूले तल ब्याटिङ गरेको र अगाडि पनि ब्याटिङ गर्न सक्ने बताए । ‘त्यो सिचुएसन अनुसार ब्याटिङ गरेको हो । कहिले चाँडै आउन सक्छु कहिले पछाडि हुन्छ’ उनले भने ।
सुरुमा विकेट स्लो भएकोले सिंगल डबल खेलेको र पछि रन लागेको दीपेन्द्रले बताए । ‘सुरुमा विकेट लो थियो सिंगल डबल रोटट गरेर खेल्यौँ । पछि लाग्यो भनौँ न’ उनले भने ।
टिममा ब्याटिङको गहिराई धेरै रहेकोले पनि सुदूरलाई खासै समस्या छैन । यस्तै यू १९ टिमबाट यू१९ एसिया कप खेल्न गएका अर्जनु कुमाल र नरेन साउद आउन बाँकी नै छ । यस्तै विदेशी खेलाडी रोहन मुस्ताफा मंगलबार खेलेका थिएनन् । उनीहरु थपिँदा टिम अझ सन्तुलित बन्न सक्छ ।
दीपेन्द्रले पनि टिममा राम्रो रहेको र सन्तुलन मिलाउन त्यति गाह्रो नभएको बताए । ‘सन्तुलन मिलाउन खासै गाह्रो छैन । टिममा जसलाई खेलाएपनि पछाडिसम्म राम्रो छ । अहिले राम्रो खेलेको छ । मुख्य करा कसले राम्रो खेल्छ भन्ने नै हो ।’
दीपेन्द्रबाहेक सुदूरपश्चिमका लागि ब्याटिङमा म्याकुलेनले २६ बलमा समान २ चौका र छक्का प्रहार रग्द ३६ रन बनाए । ओपनिङ गरेका विनोद भण्डारीले २० बलमा ४ चौका प्रहार गर्दै २३ रन जोडे । इशान पाण्डेले १६ बलमा २१ रन बनाए । सैफ जैबले १४ रन जोडे । अन्तिममा आएका स्कट कुगेलेयनले पनि ६ बलमा २ चौका प्रहा गर्दै १० रन बनाए । विराटनगरका अनिल खरेलले ३ विकेट लिए ।
‘ह्याप्पी मोमेन्ट भएन’
लक्ष्य पछ्याउँदा विराटनगरको सुरूवात नै राम्रो हुन सकेन । जुन अन्तिमसम्म कायम रह्यो । स्कटले पहिलो बलमै विराटनगरका मार्टिन गप्टिललाई डक आउट गरे । त्यसपछि विराटनगरले लगातार विकेट गुमायो ।
११ रनमा ३ विकेट गएपछि राजेश पुलामी र बसिर अहमदले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ३२ रनको साझेदारी पछि पुलामी आउट भए । त्यसपछि पनि निरन्तर विकेट गयो र विराटनगर १६।१ ओभरमा ९२ रनमा अलआउट भयो । बसिरले सर्वाधिक २४ रन बनाउँदा पुलामीले १५ रन जोडे । बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान ऐरीबाहेक सुदूरका सबै बलरले विकेट लिए । जसमा स्कट र अविनाशले ३(३ तथा म्याकमुलेन, सैफ जैब र इशान पाण्डेले समान १ विकेट लिए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले मोमेन्टलाई क्यापिटलाइज गर्न नसकेको बताए । ‘सुरुमा राम्रो थियो । तर पछि उनीहरुले राम्रो ब्याटिङ गरे । क्रेडिट दिपी दाइलाई पनि जान्छ । उहाँहरुले बीचमा राम्रो खेल्नुभयो । हामीले ३०(४० रन अतिरिक्त दिइसकेका थियौं जसले गर्दा चेस गर्न गाह्रो नै हुन्छ’ सन्दीपले भने ।
यस्तै उनले आउने खेलमा गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताए । आफ्नो व्यक्तिगत प्रदर्शन पनि अपेक्षा अनुसार नभएको भन्दै यो पार्ट अफ लाइफ भएको बताए ।
लगातार हारपछि दबाबभन्दा पनि मोमेन्टम नभएको सन्दीपले बताए । ‘प्रेसर भन्दा पनि मोमेन्टम छैन । जितपछि जुन खुशी हुन्छ नि त्यो पाछैन । दुई खेल हारेको छ’ उनले भने, ‘ड्रेसिङ रुममा ह्याप्पी मोमेन्ट छैन जस्तो छ।’ आउने खेलमा राम्रो गर्ने सन्दीपले बताएका छन् ।