सुदूरपश्चिममा पालिका उपाध्यक्ष गुमाएको कांग्रेसको वडाध्यक्षमा दबदबा, माओवादी ‘क्लिन स्वीप’

प्रकाशित:

कञ्चनपुर। सुदूरपश्चिमका ६ स्थानमा भएको स्थानीय तह उपचुनावमा नेकपा माओवादी केन्द्र हात खाली भएको छ।

उपचुनाव भएका ६ स्थानमध्ये ०७९ को चुनावमा एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्र उपचुनावमा भने शून्य भएको हो।

सुदूरपश्चिमका ६ स्थानमा भएको स्थानीय तह उपचुनावमा नेपाली कांग्रेसले ५ स्थानमा जितेको छ। ०७९ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसले उपचुनाव भएकामध्ये ४ स्थानमा मात्रै जितेको थियो।

यद्यपि ०७९ मा जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष कांग्रेसले गुमायो।

अघिल्लो हारको बदला लिँदै नेकपा एमालेले स्वामीकार्तिक खापरको उपाध्यक्ष जितेर एमाले खाली हात हुनबाट जोगियो।

नेकपा एमालेकी सुलोचनकुमारी भण्डारी १७४० मतसहित दोस्रो प्रयासमा स्वामीकार्तिक खापरको उपाध्यक्ष बनिन्। कांग्रेसकी पुल्तीसरा शाहीले १४७४ र नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत ल्याइन्।

नेकपा एमालेले ०७९ को स्थानीय तह चुनावमा जितेको बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको सिट कांग्रेसले खोस्यो। यहाँ नेपाली कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतका साथ विजयी भए।

उनका प्रतिस्पर्धी नेकपा एमालेका लखीचन्द्र बोहराले ४८७ र नेकपा माओवादी केन्द्रका पुष्करबहादुर बोहराले १७ मत ल्याए।

नेकपा माओवादी केन्द्रले जितेको दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्ष नेपाली कांग्रेसका धनसिंह कुँवरले ३७६ मतका साथ जिते।

उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३५८ र नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत मात्रै ल्याउन सके।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसले जित दोहोर्‍याएको छ।

भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द ११०७ र पूवीचौकी गाउँपालिका–६ मा मोहन थापा ४६८ निर्वाचित भए। भीमदत्त–६ मा निकटतम प्रतिस्पर्धी एमालेका बहादुर चन्द ४८७ र पूर्वीचौकी गाउँपालिका–६ मा एमालेका देवबहादुर थापा ३०१ मतमा रोकिए।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी भुल यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन्।

ताजा समाचार

सम्बन्धित समाचार