गगन थापा भन्छन्– लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर गर्छन्

प्रकाशित:

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हप्तामा एकपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर कांग्रेसलाई खबर पठाउने गरेको बताएका छन् ।

कीर्तिपुरमा भएको चुनावीसभामा बोल्दै उनले कांग्रेस १७ असारमा एमालेसँग भएको सहमतिअनुसार सरकारलाई तलमाथि गर्ने पक्षमा नरहेको बताए ।

‘अहिले भर्खर प्रचण्डले कीर्तिपुरमै बोलेर जानुभएछ, यो–यो कारणले गर्दा सरकार बदलियो । कांग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनुहुन्छ– लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर । यो खबर पठाउने काम पहिले अर्कैले गर्थ्यो । सरकार तलमाथि गर्ने हो भने संख्या कांग्रेससँग नै छ,’ महामन्त्री थापाले भने, ‘तर, कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो, आज कांग्रेस केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ, कांग्रेसलाई प्रधानमन्त्री बन्न नआउने भएर होइन ।’

थापाले २०७९ को चुनाव जितेका ठाउँमा पाँच वर्ष गरेको कामको परिणामपत्र लिएर जाने बताए । ‘जहाँ कांग्रेसको वडाध्यक्ष र मेयर जितेको छ, त्यहाँ कांग्रेसले प्रतिबद्धतापत्र वा घोषणापत्र लिएर जाने होइन । त्यहाँ कांग्रेसले पाँच वर्ष गरेको कामको परिणामपत्र लिएर जाने हो । यो काम गरेर आएँ भनेर जाने हो,’ महामन्त्री थापाले भने ।

उनले मिसन २०८४ को कुनै अर्थ नभएको पनि बताए । एउटा चुनाव जितेर अर्को चुनावको मात्रै सपना देखाउने काम गर्न नहुने उनको भनाइ छ ।

‘२०८१, २०८२, २०८३ र २०८४ को जिम्मा कसले लिन्छ रु मलाई त डर लाग्छ, कसैले लिँदैन । किनकि २०७९ देखि २०८४ सम्म जाँदै गर्दा सरकारमा नबसेको र प्रतिपक्षमा नबसेको कुनै पार्टी हुने छैन । अनि २०८४ को चुनावमा जाँदै गर्दा सबैले के भन्छन् भने राम्रोजति मैले गरेको, नराम्रो जति अर्को पार्टीले गरेको, आफूले गरेको गल्ती स्वीकार गर्दै सच्याउँदै कांग्रेस जिम्मा लिन चाहन्छ,’ महामन्त्री थापाले भने ।

ताजा समाचार

सम्बन्धित समाचार