धनगढी । कैलालीको कैलारी गाउँपालिका–८ लौसाका स्थानीय दुःखीराम कठरियाले भारतको उत्तर प्रदेशस्थित बेलरायाबाट २ बोरा रासायनिक मल ल्याएर गहुँ छरे ।
पूर्ववडाध्यक्ष समेत रहेका कठरियाले गहुँ बालीको लागि चाहिने आवश्यक मल नेपालमा नपाएपछि बाध्य भएर बेलरायाबाट लिएर गहुँ छरेको बताए ।
उनले भने, ‘के गर्नु चाहिने बेलामा मलै हुँदैन । ४ घण्टा लगाएर बाइकमा बेलरायाबाट ल्याएँ । मल प्रयोग नगरौँ बाली नै हुन्न ।’
भारतबाट मल ल्याउन भने सहज छैन । खुला नाकाको प्रयोग र बाटोमा प्रहरीले दिने सास्ती थेग्दै मल ल्याउनु परेको उनको भनाइ छ । कैलालीको जोशीपुर गाउँपालिका ३ का रामप्रसाद कठरियाको मल विना गहुँ छर्ने २ बिघा जमिन अझै बाँझो छ ।
उनको मलको खोजीमै साता दिन लागेको छ । तर पाउन नसकेको उनले बताए । ‘कसरी गर्नु खेती रु पैसा तिरेर पनि मल पाइँदैन । सिजन घर्किरहेको छ । जमिन अझै बाँझै छ,’ उनको भनाइ छ ।
सुदूरपश्चिमको कैलाली कञ्चनपुरका किसान यतिबेला गहुँ बाली छर्नमा व्यस्त छन् । तर छर्ने बेलामा चाहिने डीएपी मलको चरम अभाव भएपछि प्रभावित बनेका हुन् । किसानहरू मलको लागि सहकारी संस्थाहरूमा धाउन बाध्य छन् ।
रासायनिक मलको आपूर्तिकर्ता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालयहरूसँग पनि मलको मौज्दात सकिएपछि मलको अभाव चुलिएको हो ।
यहाँका किसान चालू सिजनमा मात्रै होइन, हरेक सिजनमा मलको अभाव झेल्दै आएका हुन् । हिउँदे सिजनको चटारोका बिच मलको अभाव चुलिएको बेला मलको प्रमुख आपूर्तिकर्ता निकाय कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले भने यहाँको लागि छुट्याएको मलको कोटा सकिएको बताएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले नेपालमा भित्रिने जम्मा मलको ९.७ प्रतिशत मल सुदूरपश्चिमको कोटा रहेको सुनाए । सो कोटा अनुसारको मलको आपूर्ति सकिएपछि थप मल आउन नसकेको बताए ।
बोगटीले रातोपाटीलाई भने, ‘कोटा अनुसारको हामीले २६१९ मेट्रिक टन मल वितरण गरिसकेका छौ । त्यही भएर थप मल नआउँदा किसानलाई पर्याप्त मात्रा नपुगेको हो । तर मङ्सिरको अन्तिमतिर आउन सक्छ ।’
मलको अर्को आपूर्तिकर्ता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि डीएपी र युरियाको मौज्दात शून्य छ । मौज्दात नभएपछि कर्पोरेसन धनगढीले डीएपी र युरिया मलको वैकल्पिक मल प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।
कर्पोरेसन धनगढीका प्रमुख वासुदेव उपाध्यायले आफूहरूसँग यतिबेला एसएसपी (सिंगल सुपर फस्फेट) र अल्मोनियम सल्फेट मात्रै रहेको बताए ।
प्रदेश सरकारको अनुदान रहेको बताउँदै प्रमुख उपाध्यायले डीएपी मलको विकल्पमा एसएसपी र युरिया मलको विकल्पमा अल्मोनियम सल्फेट प्रयोग गर्न किसानलाई आग्रह पनि गरे ।