कञ्चनपुर। दार्चुला जिप दुर्घटनाका घाइते ४ जनालाई थप उपचारका लागि कैलालीको धनगढी ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत घाइते ४ जनाको उद्धार गरिएको हो।
दुर्घटनाका घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फ धनगढी पठाइएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन्।
गोकुलेश्वर अस्पतालले घाइते ४ जनालाई रेफर गरिएको जनाएको छ। भारतीय नागरिक १७ वर्षीय सोहिन शाह, जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ वर्षीय उत्तम रोकाया र शैल्यशिखर नगरपालिका–५ का ८ वर्षीय सन्दिप रावललाई रेफर गरिएको हो।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ बकजेबलामा दुर्घटना भएको थियो।
दुर्घटनामा ७ जनाको घटनास्थल र अर्का घाइतेको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किरहेका १३ यात्रु सवार जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन।