दार्चुला । दार्चुलामा एचआइभी संक्रमितको संख्या ४७ जना पुगेको छ । हाल जिल्ला अस्पतालबाट ४७ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन । सेवा लिनेहरु मध्ये २२ जना पुरुष, २३ जना महिला तथा २ जना १६ वर्ष मुनिका बाललवालिका रहेका छन् ।
जिल्ला अस्पताल दार्चुलाका एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले दिएको जानकारी अनुसार ४७ जना मध्ये पनि ७ जनाको अहिले सम्म एचआइभी एड्सकै कारण ज्यान गएको बताएका छन ।
उहाँका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिकामा सबै भन्दा बढि १२ जनामा एचआइभी देखिएको छ ।
यस्तै शैल्यशिखर नगरपालिकामा ११ जना ,महाकाली नगरपालिका र लेकम गाउँपालिकामा समान ८÷८ जनाान एचआइभी देखिएको एआरटि काउन्सलर धामीले बताउनु भयो ।
मार्मा गाउँपालिकामा ४ जना दुहुँ गाउँपालिकामा ३ जना तथा नौगाड गाउँपालिकामा १ जनामा एचआइभी देखिएको छ ।
जिल्लाको अपि हिमाल गाउँपालिका र व्यासँ व्यासँ गाउँपालिकामा अहिले सम्म एचआइभी संक्रमितहरु शुन्य रहेको पाइएको छ ।
जिल्लामा ५ जना पुरुष र दुई जना बालबालिका गरी ७ जनाको हालसम्म एचआइभी एड्सकै कारण ज्यान गएको छ । दार्चुलामा संक्रमितहरुको संख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको जानकारहरु बताउँछन् ।
भारतसंग सीमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन बढेको हो । साथै संक्रमितहरुलाई हेर्ने समाजको दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको पाइएको छ ।
दार्चुलामा रहेका सयौं संक्रमितहरु विभिन्न कारण खुल्न नसक्दा दार्चुलामा एचआइभी नियन्त्रण चुनौती बन्दै गएको छ ।
विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइन्छ ।