कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा जमिन छ । खेतमा हुने उब्जाउले वर्षभरि खान पुग्दैन । उनको परिवारले खाद्यान्न किनेर जीविकोपार्जन गर्दै आएको छ ।
खल्लाकी निर्मला प्रत्येक महिना दाल चामल किन्न तीन घण्टा पैदल ओहोरदोहोर गर्छिन् । उनले भनिन्, “गतिलो सडक नहुँदा पैदल हिँडेरै बजार ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।”
भीमदत्त नगरपालिका–९ अन्तर्गत चुरेका बस्ती खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीय किनमेलका लागि ब्रह्मदेव बजार पुग्ने गरेका छन् ।
महाकालीको तिरैतिर खल्ला, मुसेट्टी र टुँडिखेल जोड्ने बाटो छ । बर्सातमा बाढीपहिरोले बिग्रिने हुनाले यहाँका स्थानीय सडक सञ्जालसँग सम्पर्क टुट्ने गरेको छ ।
“यस वर्ष पनि बाढीपहिरोले सडक अस्तव्यस्त छ । बस चल्थ्यो । बाटो नहुँदा अचेल चल्न सकेको छैन”, खड्काले भनिन्, “जोखिम मोलेर पैदल हिँड्नुपर्छ ।” यहाँ कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । कक्षा ९ देखि अध्ययन गर्न ब्रह्मदेव पुग्नु पर्छ । “विद्यालय पुग्न दुई घण्टा लाग्छ । बर्सातमा बाढीपहिरोको डर छ”, स्थानीय कृष्ण विकले भने, “वर्षामा विद्युत् र सञ्चार सुविधाबाट वञ्चित हुनुपर्छ ।”
यहाँ केही वर्षअघि मात्रै विद्युत् विस्तार गरिएको थियो । त्यसपछि स्थानीयले सञ्चारको सुविधामा पाएका थिए । विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयले सौर्य उर्जा र भारतीय सिमको प्रयोग गर्थे ।
“विगतको तुलनामा केही सुधार भएको छ । तर सडक गतिलो नहुँदा सास्ती भोग्नुपर्छ”, स्थानीय रुपा कामीले भनिन्, “वर्षभरि गाडी चढेर ओहोरदोहोर गर्न कहिले पाइएला ?”
सिँचाइ र खानेपानी समस्या स्थानीयले भोग्दै आएका छन् । सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीय कमल खड्काको भनाइ छ । “माटो उर्वर छ । तर सिँचाइ सुविधा नहुँदा उब्जाउ हुँदैन”, उनले भनिन् ।