रविका कार्यकर्ताले जब आफ्नै पार्टीका पालिका संयोजकलाई भकुरे…

प्रकाशित:

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्ताले आइतबार पोखरामा आफ्नै पार्टीका सदस्यलाई कुटपिट गरी घाइते बनाएका छन्।आफ्नै साथीहरूबाट कुटाइ खाएका रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल हुन्।

उनी अहिले घरमै आराम गरिरहेका छन्। उनको ओठमा दुइटा टाँका लगाइएको छ। ओठ सुन्निएको छ। आइतबार दिउँसो आन्दोलनमा जाँदा खाएको कुटाइले अहिले पनि शरीर दुखिरहेको पौडेल बताउँछन्।

‘मैले त आफ्नै साथीहरूबाट कुटाइ खाएँ। हिजोको आन्दोलनमा मलाई ठूलो चोट लागेको ओठमा हो। धेरै नै रगत बगेछ,’ उनले भने, ‘अन्त पनि दुखेको छ, घरमै आराम गरिरहेको छु।’

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै पक्राउ परेका रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने समय माग्न आइतबार अदालत लगिँदै थियो।

कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको पोखराको शहिदचोकमा रास्वपा कार्यकर्ता नाराबाजी गरिरहेका थिए। प्रहरीले निषेधित क्षेत्र छाड्न बारम्बार आग्रह गरिरहेको थियो।

प्रहरीको आग्रह रास्वपा कार्यकर्ताले टेरेनन्। प्रहरीले उनीहरूलाई निषेधित क्षेत्रबाट हटाउन सकेन। आफ्नै नेताहरूले माइकिङमार्फत् ३० मिटरमाथि गएर आन्दोलन गरौं भन्दा पनि कार्यकर्ताले सुनेनन्। हुलहुज्जत र प्रहरीसँग धकेलाधकेल भएपछि प्रहरीले पानीको फोहोरा हान्न थाल्यो।

त्यहीबेला आन्दोलनमा रविका पक्षबाट नाराबाजी गरिरहेका पौडेलले मिनरल वाटरको बोतल प्रहरी भएतिर फ्याँके। प्रहरीमाथि आक्रमण गरेको भनेर उल्टै रास्वपाका कार्यकर्ताले उनलाई निर्घात कुट्न थाले।

आफ्ना कार्यकर्ता होइन घुसपैठिया हो भनेर उनलाई रास्वपाका आफ्नै साथीहरूले कुटेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार