पुनर्वासमा प्रहरी इन्स्पेक्टरमाथि आक्रमण गर्नेलाई उन्मुक्ति किन ?

प्रकाशित:

पुनर्वास (कञ्चनपुर)। कञ्चनपुरको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेशविक्रम शाहीसहितको प्रहरी टोलीमाथि आक्रमण भएको महिना दिन बित्नै लाग्दा पनि घटनामा संलग्न अझै कानूनी दायरामा आएका छैनन्।

लामो समय भइसक्दा पनि डिउटीमा खटिएको बेला आक्रमण गर्ने समूहको पहिचान गरेर प्रहरीले उनीहरुलाई कानूनी दायरामा ल्याउन नसकेको हो।

१० असोजको राति गस्तीमा निस्केका इन्स्पेक्टर शाहीसहित ९ जनाको प्रहरी टोलिमाथि आक्रमण भएको थियो। पुनर्वास नगरपालिका–७ शैतान चोकमा भइरहेको खड्खडे जुवा नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि एक समूहले आक्रमण गरेको थियो।

आक्रमणमा इन्स्पेक्टर शाहीलगायत अन्य प्रहरीलाई चोट लागेको थियो। प्रहरीको भ्यान समेत तोडफोड भएको थियो।घटनाको विषयमा छानविन गर्न अर्को दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी पुनर्वास पुगेका थिए।

डीएसपी जोशीको उपस्थितिपछि प्रहरीमाथि आक्रमण गर्ने पक्राउ पर्छन भन्ने ठूलो आशा थियो। तर घटनाको एक महिना पुग्दा समेत आक्रमणमा संलग्नहरु पक्राउ नपर्दा तल्लो तहका प्रहरीमा निराशा देखिएको छ।

उनीहरु भन्छन्, ‘हाकिमलाई कुट्दा त केही कारबाही भएन हामीलाई कुटदा झन् के होला ?’ यस घटनाले प्रहरीमा मात्रै हैन अन्य स्थानीयहरुमा पनि असुरक्षाको अनुभुति देखिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले घटनाको अनुसन्धानमै रहेको बताए। प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने उनले बताए।

‘घटनामा संलग्न उम्कन पाउँदैनन्। हामी ती व्यक्तिहरुको खोजी गरी कारबाही गरेर छाड्छौ,’ उनले भने, ‘कुनै पनि दबाबमा रहेर घटनालाई दबाउन खोजेका छैनौ। तत्काल एक्सनमा जाने अवस्था थिएन। घटनास्थल मुचुल्का गरेका छौं। म निरन्तर अपडेटमै छु।’

घटनाको महिना दिन पुग्न लाग्दा समेत आक्रमण गर्ने व्यक्तिहरुको पहिचान गरि कानुनी दायरामा ल्याउन नसक्नुले अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरी यतिबेला कमजोर भएको विश्लेषण भइरहेको छ।

प्रहरीले घटना कसरी सामसुम पा¥यो भन्ने विषय यतिबेला पुनर्वासका चोक चौतारा, चिया पसलहरुमा समेत बहस चल्ने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार