बैतडीका शक्तिपीठमा एक हजार पशुबलि

प्रकाशित:

बैतडी। शक्तिस्वरूपाका रूपमा विजयादशमीमा विशेष पूजा लाग्ने देवी भगवती र उदयदेव मन्दिरमा एक हजार राँगा तथा बोकाको बलि दिइएको छ ।

घटस्थापनादेखि नवमीसम्म यहाँका विभिन्न शक्तिपीठमा ५७८ राँगा र ४८६ बोका गरि एक हजार ६४ पशुको बलि चढाइएको छ ।

सात भगवती बहिनीमध्ये एक शक्तिस्वरूपा मानिने निङ्लासैनी भगवती मन्दिरमा सबैभन्दा बढी राँगा र बोकाको बलि दिइएको छ ।

यहाँ ३१७ राँगा र १९५ बोकाको बलि दिइएको छ । सबभन्दा कम बलि त्रिपुरासुन्दरी भगवतीमा दिइएको छ । यहाँ सात राँगा र ४० बोकाको बलि दिइएको मन्दिरका मुखिया हिम्मत चन्दले जानकारी दिनुभयो ।

त्यसै गरी मेलौली भगवतीमा एक सय राँगा र १२० बोका, फालङासैनीमा १४ राँगा र सात बोका, डिलासैनी गाउँपालिका–५, स्थित कफलासैनीमा ३० राँगा र ३५ बोका, पाटन उदयदेवमा ४१ राँगाको बलि दिइएको छ ।

जिल्लाकै अर्को प्रसिद्ध शिवनाथ गाउँपालिकास्थित कफाडी उदयदेव मन्दिरमा ६८ राँगा र १११ बोकाको बलि दिइएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशव चन्दले बताउनुभयो । –गोरखापत्रबाट

ताजा समाचार

सम्बन्धित समाचार