महेन्द्रनगर । नेपालीहरुको महान् पर्व बडादशैं, दिपावली तथा छठ आगनमै पुग्नलाग्दा नेपाली बजार भने महंगी र कालोबजारीले धङधङी छ । चाडवाड नजिकिदा उपभोक्ता मूल्यवृद्धि, मिसावट र कृत्रिम अभावको सिकार बन्दैछन् ।

माथि उल्लेखित पङ्क्तिबाट कञ्चनपुरको महेन्द्रनगर बजार अछुतो छैन् । सुदूरपश्चिमको दोस्रो ठुलो बजारको दर्जामा रहेको महेन्द्रनगरमा चाडवाडको समयमा यी र यस्तै समस्याको सिकार हुँदै आएका छन्, स्थानीय उपभोक्ता ।

बजार अनुगमन तथा नियमन गर्ने निकायको सुस्तताले त्यस्ता गतिविधिले प्रश्रच पाएको छ । नियामक निकायको सुस्तता र कार्यान्वयमा प्रभावकारिताको अभावले उपभोक्ताले मार र महंगी–कालोबजारीले जरागाडेको छ ।

शुक्रबार महेन्द्रनगरका सात ओटा फर्म (पसल) मा अनुगमन एवं निरीक्षण गर्दा अधिकांशमा कैफियत देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले जनाएको छ । एक सुपरमार्केट सहित सात ओटा पसलमा अनुगमन गर्दा अधिकांशमा कैफियत देखिएको कार्यालयले जनाएको छ ।
यो पनि: बजार अनुगमनमा तीव्रता, महेन्द्रनगरमा भेटिएको अखाद्यय वस्तु नष्ट
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र खाद्य प्रविधि कार्यालय धनगढीले ६ ओटा ‘स्वीट हाउस’ (मिठाई पसल) र एक सुपर मार्केटमा गरेको अनुगमन एवं निरीक्षण गरेको हो ।
‘स्वीट हाउस’हरुमा रङ राखेर रसबरी, मिठाई, लड्डुहरु बनाएको पाईएपछि कारवाही स्वरुप जरिवाना र सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनसन्धान अधिकृत हरिसिंह बोहराले बताए ।
‘महेन्द्रनगरमा हामीले अनुगमन गर्दा अधिकांश स्वीट हाउसहरुले बनाउने मिठाई, लड्डुहरुमा रङ हाल्ने गरेको भेटियो ।’ अधिकृत बोहराले भने, ‘पकाएर खानुपर्ने खाद्यवस्तुहरुमा रङ हाल्नु हुँदैन्, रङ पकाउदा स्वास्थ्यलाई हानी हुन्छ ।’
रङराखेर पकाएका मिठाई, रसवरी र लड्डुहरु नष्ट गरिएको उनले बताए । अनुगमनका क्रममा गोपाल गोरसलाई अत्याधिक रङ लगायतका कैफियत देखिएकाले कारवाही स्वरुप १० हजार जरिवाना गरिएको र अन्यको मिठाई नष्ट गर्दै सचेत गराईएको अधिकृत बोहराले बताए ।
उक्त अनुगमन एवं निरीक्षणको पुर्ण प्रतिवेदन तयार पारेर खाद्य प्रविधि कार्यालय धनगढीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई बुझाउने जनाएको छ ।