माओवादी सुदूरपश्चिममा विद्रोह, बझाङमा समानान्तर कमिटी

प्रकाशित:

कैलाली। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा विद्रोह सुरु भएको छ। पार्टी विधि विधानविपरीत चलेको भन्दै बझाङमा माओवादीभित्र विद्रोह भएको छ।

पार्टीको नीतिविपरीत नेतृत्व चयन गरिएको भन्दै बझाङमा माओवादी केन्द्र नै दुई कित्तामा विभाजन हुन पुगेको छ। मूल नेतृत्वबाटै गैरजिम्मेवारी काम हुन थालेपछि यसको विरोधस्वरुप समानान्तर कमिटी नै गठन गरिएको छ।

नन्दलाल धामीको संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समानान्तर कमिटी गठन गरिएको हो। ‘एक पदमा एक जना मात्र रहने पार्टी निर्णय हो तर बझाङमा यसविपरीत काम हुन थालेपछि विरोधमा उत्रिएका हौँ,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले भने।

जनप्रतिनिधिलाई जनप्रतिनिधिकै रुपमा रहने दिने, उनीहरुलाई सरकारी काममै सहयोग गर्ने र पार्टीको कुनै जिम्मेवारीमा नराख्ने निर्णय थियो। तर, पार्टीको नीतिविपरीत काम हुन थालेपछि विद्रोह गर्नुपरेको समान्तर कमिटी सचिव अम्मरराज भण्डारीले बताए।

प्रदेश कमिटीले जयपृथ्वी नगरपालिकाका उपमेयरसमेत रहेका रतनबहादुर सिंहलाई बझाङ जिल्ला संयोजक तोकेपछि विद्रोह सुरु भएको हो।

नीति लत्याउने, एकल र दादागिरी शैलीमा अघि बढ्ने, चरम व्यक्तिवादी निर्णय गर्ने पार्टीका प्रदेश कमिटी सचिव जनक बुढालगायत व्यक्तिले जसरी गर्न खोजेका छन् त्यसको विरुद्ध समान्तर कमिटी गठन गरेर संघर्ष गर्नुपरेको उनीहरुको भनाइ छ।

उनीहरुले केन्द्रीय नेतृत्वलाई पनि असहमति जनाइसकेको र अझै नसच्चाइए वडा तहसम्म समानान्तर समिति गठन गरिने बताएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार