दोधारा चाँदनीमा ट्राफिक नियम सम्झाउँदै वडाध्यक्ष बस्नेतले दिए हेल्मेट उपहार

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको छ।

दोधारा चाँदनी नगरपालिका–६ को कार्यालय र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले संयुक्त रुपमा ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन।

मंगलबार दोधारा चाँदनी क्षेत्रमा जाँच गर्दै ट्राफिक नियम उल्लघन गर्नेलाई नियम पालना गर्न सचेत गरिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहामगरले बताए।

‘हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलाई रोकेर पहिलो पटक सम्झाइ बुझाइ गरिएको छ। ट्राफिक नियम पालना गर्न सचेत गरिएको हो,’ उनले भने। आफ्नो सुरक्षाका लागि सवारी चलाउने अनिवार्य हेल्मेट प्रयोग गर्न उनले आग्रह गरे।

‘हेल्मेट प्रहरीका लागि लगाउने होइन, आफ्नै सुरक्षाका लागि हो,’ प्रहरी निरीक्षक गाहामगरले सचेनामूलक कार्यक्रममा भने, ‘आफू पनि हेल्मेट लगाउनुस्, हेल्मेट नलगाइ सवारी चलाउने अरुलाई पनि अनिवार्य प्रयोग गर्न भन्नुस्।’

दोधारा चाँदनी क्षेत्रमा सडक दुर्घटना बढिरहेकाले न्यूनिकरण गर्नका लागि वडा कार्यालयको आर्थिक सहयोगमा सचेतनामूलक कार्यक्रम गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष ओम बस्नेतले बताए।

हेल्मेट प्रयोग नगरेर मोटरसाइकल तथा स्कुटी चलाउने ६ जनालाई सचेत गराउँदै ट्राफिक नियम पालना गर्न प्रोत्साहन स्वरुप हेल्मेट दिइएको उनले बताए।

‘सडक कालोपत्रे भएपछि ट्राफिक नियम उल्लघन गरेर सवारी चलाउँदा दुर्घटना बढिरहेका छन्। ट्राफिक नियम पालना गर्न सचेत गराउँदै केहीलाई हेल्मेट दिएका छौँ,’ उनले भने, ‘यसले नियम पालना गर्न प्रोत्साहन हुने अपेक्षा छ।’

यात्राका क्रममा व्यक्तिगत सुरक्षाका लागि हेल्मेट अनिवार्य रहेको बताउँदै वडाध्यक्ष बस्नेतले हेल्मेट हस्तान्तरण गरेका हुन। जाँचमा फेला परेकाहरुलाई अनिवार्य हेल्मेट प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार