दार्चुला। नेपालको त्रिदेशीय सीमा क्षेत्रमा नेपाली सेनाद्वारा निर्माण भईरहेको तिंकर सडकमा मजदुरी गरिरहेका एक जना ढुंगा लागेर गम्भीर घाईते भएका छन्।
सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षिय धनप्रसाद डागी घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दार्चुला–टिंकर सडकखण्ड अन्तर्गतको ब्यास गाउँपालिका–२ आतुङती क्षेत्रमा माथिबाट आएको ढुंगा लागेर मजदुर घाइते भएका छन्। दिउँसो २ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट आएको ढुंगा लागेर उनी गम्भीर घाइते भएका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए।
घाइते डाँगीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।