महाकालीको भेलमा बिलायो परिवारसँगै दसैँ मनाउने सपना

प्रकाशित:

बैतडी। महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन्।

शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकालीमा लडेर बेपत्ता भएका थिए।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासी चिप्लिएर महाकाली नदीमा खसेका थिए। बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ।

लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए।

पुर्चौडी नगरपालिका–५ कुवाकोटका अमरसिंह धामी भारत उत्तराखण्डको पिथौरागढमा मजदुर काम गर्थे। केही महिना अघि त्यहाँ गएका उनी दसैँ मनाउन घर फर्किने क्रममा झुलाघाटबाट महाकाली नदीमा खसेका थिए। घरपरिवारसँग दसैँ मनाउने उनको सपना महाकालीको भेलमा बिलायो।

भारतमा मजदुरी गरी दसैँ खर्च जोहो गरेर धामी गाउँकै मानिससँग घर फर्किरहेका थिए। धामी महाकालीमा बेपत्ता भएपछि परिवारको बिचल्ली भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार