महेन्द्रनगर। खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरीलाई जोड्ने झोलुङ्गे पुल नदीले धार परिवर्तन गरेपछि जोखिममा परेको हो।
स्थानीयका अनुसार, नदीले पूर्वतर्फ कटान गरिरहेको छ, जसका कारण झोलुङ्गे पुलको स्थिरता संकटमा परेको छ। स्थानीय ज्ञानेन्द्र चौधरीले नदीमा गिट्टी र बालुवा उत्खनन् गरिएका कारण कटान भइरहेको बताउनु भएको छ।
पुलको जोखिमलाई ध्यानमा राख्दै, स्थानीयहरूले नदीबाट गिट्टी र बालुवा उठाउन नदिने निर्णय गरेका छन्। यसबारे धनगढी उपमहानगरपालिकाले रोयल्टी उठाउँदै आएको छ।
स्थानीय हर्षराज रानाले तटबन्ध नगरिएमा विद्यालय र खेतबारीको कटान हुने चेतावनी दिनुभयो। यसै क्रममा, धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले कटान नियन्त्रणका लागि नयाँ योजनामा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उहाँले नदीको धार परिवर्तन गरेर झोलुङ्गे पुल जोगाउनको लागि तत्काल कार्य गर्ने आवश्यकता रहेको बताउनुभयो।