महेन्द्रनगर । कञ्चनपुरको निङ्गलाशैनी भगवती मन्दिर प्राङ्गण महेन्द्रनगरमा असोज अन्तिम सातादेखि रामलिला आयोजना हुने भएको छ ।
निङ्गलाशैनी जगन्नाथ रामलिला समितिले असोज २८ गतेदेखि दुई सातासम्म रामलिला आयोजना गर्न लागेको हो । समितिले शनिबार पत्रकार सम्मेलन गरी रामलिलाको तयारी सम्बन्धि जानकारी गराएको छ ।
समितिले जेठ देखि रामलिला सञ्चालनको तयारी अघि बढाएको थियो । पत्रकार सम्मेलनमा निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका अध्यक्ष एवं रामलिला आयोजक समितिका संयोजक निरञ्जन प्रसाद भट्टले रामलिला सञ्चालनको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘असोज २८ गतेदेखि रामलिला सुरु हुन्छ, अहिले सबै तयारी भई रहेका छन्, मञ्च व्यवस्थापन, पात्रहरुलाई प्रशिक्षण लगायतका कार्यक्रम लगभग पूरा भएका छन्’ उनले भने ।
रामलिला आयोजनाका लागि भीमदत्त नगरपालिका कार्यालय, भीनपा ६ नम्बर वडा कार्यालय र भीनपा १८ नम्बर वडा कार्यालयले सहयोग गरेको संयोजक भट्टले बताए ।
गोबरैया २०७१ मा २८ वर्षपछि पहिलो पटक रामलिला आयोजना गरिएको थियो । त्यसलाई निरन्तरता दिँदै यस वर्ष असोज २८ गतेदेखि रामलिला आयोजना हुन लागेको हो । २०७१ मा निङ्गलाशैनी माध्यमिक विद्यालयमा रामलिला आयोजना गरिएको थियो ।
गोबरैयाका स्थानीय निर्माण व्यवसायी गजेन्द्र बहादुर चन्दले रामलिला आयोजनाको नेतृत्व लिएका थिए । त्यसपछि २०७२ मा पनि चन्दको नेतृत्वमा रामलिला गरिएको थियो ।
२०७३ मा निरञ्जन प्रसाद भट्ट र २०७४ मा प्रेम सिह भाटले रामलिला आयोजनाको नेतृत्व लिए । त्यसपछि २०७५ मा बैतडीको गुरुखोलामा रामलिला आयोजना गरिएको थियो । २०७४ मा रामलिला आयोजना गरी एम्बुलेन्स खरिद गरिएको थियो ।
कोरोना महामारी र आर्थिक व्यवस्थापन जुटाउन नसकिएपछि २०७५ पछि यस वर्ष रामलिलालाई फेरि आयोजना गर्न लागिएको हो । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था, निङ्गलाशैनी माध्यमिक विद्यालय र निङ्गलाशैनी भूतपूर्व विद्यार्थी समाज रामलिलाका सह आयोजक छन् ।
निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका सदस्य सचिव अधिवक्ता पदमराज भट्टले रामलिलाबाट सामाजमा नैतिकता र सदाचारको सन्देश फैलाउन सहयोग पुग्ने बताए ।
‘रामलिलामा बसुधैब कुटुम्बकमको मूल मन्त्र हुन्छ, समाजलाई जोड्न, सामाजिक एकता कायम राख्न, विकृति, विसंगति, अपराध अन्त्य गर्न, नैतिकता र सदाचारको खडेरी परेको बेला त्यसलाई बचाउन रामलिलाबाट नैतिकता र सदाचारको सन्देश प्रवाह भएर टेवा पुग्छ’ सदस्य सचिव भट्टले भने,‘यसबाट सत्यको जित र असत्यको हार हुने सन्देश जान्छ, रामको विजय र रावणको मृत्यु हुनु नै सत्यको जित र असत्यको हार हो भन्ने सन्देश जान्छ ।’
विभिन्न समिति र उप समिति गठन गरी रामलिला तयारी गरिएको छ । रामलिलाको मञ्च व्यवस्थापनका लागि महेश चन्दको संयोजकत्वमा समिति गठन गरिएको छ ।
प्रकाश नाथको संयोजकत्वमा स्वयम् सेवक तथा युवा परिचालन समिति गठन गरिएको छ । भोजन व्यवस्थापन समितिमा खेमराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
समितिका संरक्षक र सल्लाहकारलाई अतिथि स्वागत तथा सत्कारको जिम्मेवारी दिइएको छ । रामलिला व्यवस्थापनका लागि सचिवालय गठन गरिएको सदस्य सचिव भट्टले जानकारी दिए ।
रामलिलाबाट हुने आम्दानीबाट यस वर्ष केही नयाँ कार्य थालनी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । समितिका सदस्य सचिव भट्टले अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएको बताए ।
रामलिलामा १०–१२ लाख खर्च हुने अनुमान गरिएको समितिका अध्यक्ष निरञ्जन प्रसाद भट्टले जानकारी दिए । रामलिला आयोजनाका लागि २५ सदस्यीय समिति गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा समितिका सल्लाहकार प्रेम सिह भाट, घनानन्द लेखक, भानदेब भट्ट, गणेश बहादुर चन्द, तेज बहादुर चन्द, महेश चन्द लगायत समितिका पदाधिकारी, सदस्य, कलाकार लगायतका सहभागी भएका छन् ।