बाढीपहिरोमा ९ जनाको मृत्यु, ११ जना बेपत्ता

प्रकाशित:

ललितपुर। अविरल वर्षापछि वाग्मती र यसका सहायक नदीहरूमा आएको बाढीका कारण ललितपुरमा ९ जनाको मृत्यु भएको छ । अरू ११ जना बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बाढी पहिरोका कारण ९ जनाको मृत्यु भएको र अन्य ११ जना बेपत्ता रहेका जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भने, ‘वर्षा रोकिएको छैन । साना ठूला सबै नदीहरूमा पानीको सतह उच्च देखिएको छ । बाढी र पहिरोका कारण अहिलेसम्म ९ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘अब ११ जना बेपत्ता छन् । अहिले यो संख्या बढ्दोक्रममा देखिएको छ ।’

उनका अनुसार प्रहरीले जिल्लाभर २८१ जनाको उद्धार गरेको छ । सानेपाबाट ७७ जना, नख्खुबाट १४, नखिपोटबाट १५, बुङमतीबाट ७५, चापागाउँबाट ५५ जना, यूएनपार्कबाट १ जना र इमाडोल क्षेत्रबाट २८ जनाको जीवितै उद्धार गरिएको छ ।

उनले उद्धार र खोजी कार्यकालागि जिल्लाभर जोखिम क्षेत्रहरूमा प्रहरी परिचालन गरिएको जानकारी दिए । ललितपुरमा मात्रै ११ सय जना प्रहरी परिचालन गरिएको प्रजिअ श्रेष्ठले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार