कञ्चनपुर। पहिरो खसेर सुुदूरपश्चिमको पहाडी भूभागमा सडक अवरुद्ध बनेको छ। बुधबार राति पहिलो खसेर सुदूर पहाडका विभिन्न ठाउँमा सडक अवरुद्ध बनेको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोगनपानीमा पहिरो खसेको छ।
जेसिबीको सहायताले पहिरो पन्छ्याउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सुरज बहादुर खड्काले निगरानीखबरलाई बताए।
उनका अनुसार बिहान हिलोसहितको पहिरो पन्छाएर केहीबेर यातायात सुचारु भएको थियो। अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकोले सडक अवरुद्ध बनेको हो।
यो पनिः आज कहाँकहाँ छ भारीदेखि अति भारी वर्षाको सम्भावना ?
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो खसेर अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्।
ट्राफिक प्रहरीका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रडुवास्थित केआई सिंह राजमार्गमा पनि पहिरोले अवरुद्ध छ।
जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको छबिस पाथिभेरा गाउँपालिका–१ तैमल र जाली बगरमा पनि पहिरोले सडक अवरुद्ध रहेको ट्राफिक प्रहरीले जनाएको छ। पहिरो पन्छ्याएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ।