धनगढी । कैलालीको भजनी नगरपालिका–९ को गन्जवाका दुई किशोरी मंगलबार बेपत्ता भए। उनीहरु गोठालो गएका बेला सम्पर्कविहिन भएका थिए।
गन्जवाका १३ वर्षीया सन्जु सार्की र १४ वर्षीया आरती बिक मंगलबार बाख्रा चराउन स्थानीय सरस्वती सामुदायिक वन गएका थिए। तर बेलुकासम्म उनीहरु घर फर्किएनन्। त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
स्थानीय र प्रहरीले मंगलबार रातभर जंगलमा उनीहरुको खोजी गर्दा पनि भेटिएनन्। बेपत्ता भएका दुवै किशोरी बुधबार बिहान भने सकुशल भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर बिष्टले स्थानीयको सहयोगमा रातभर जंगल क्षेत्रमा खोजी गर्दा समेत नभेटिएका दुवै किशोरी बुधबार बिहान सकुशल भेटिएको बताए।
उनकाअनुसार ५० जना स्थानीयको सहयोगमा राति प्रहरीले जंगलमा खोजी गरेको थियो। अर्को दिन बिहानैदेखि फेरि खोजी गर्न जंगलतिर जाने क्रममा किशोरी हिँडेर घरतिर आइरहेको फेला परेका थिए।
उनीहरुले जंगलमा बाख्रा हराएपछि बाख्रा खोज्दाखोज्दै राति परेपछि घर फर्किन नसकेको प्रहरीलाई बताएका छन् । दुवै जना रातभर रुखको ओत लागेर जंगलमा सुतेका थिए ।