नाउपालाई झट्का: उपाध्यक्षसहित २६ नेताले छोडे पार्टी, रेशमको दाबी– ती हाम्रो पार्टीका होइनन्

प्रकाशित:

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा प्रवेश गरेका छन् ।  यादवसहित ती केन्द्रीय सदस्यहरूले आफ्नो पदबाट राजीनामा दिएर महतोको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन् ।

उनीहरुले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी नागरिक उन्मुक्ति पार्टी छाडेर राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेको जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेको केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको गुनासो गर्दै उनीहरुले सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृत्ति हावी भएको ठहर गरेका छन् ।

पार्टी नेतृत्व पार्टीलाई प्राइभेट लिमिटेड सम्झी आफ्नै विरासत सम्झिने गरेको आरोप समेत उनीहरुले लगाएका छन् । पार्टीभित्र देखा परेको साङ्गठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका तर नसुध्रिने अवस्था देखेर पार्टीबाट अलग हुने निर्णय लिएको उनीहरुले बताएका छन् ।

यो पनि: नाउपामा कसरी मिल्यो श्रीमान श्रीमतीको घरझगडा ?

उनीहरुले विज्ञप्तिमा भनेका छन्– ‘हामीलाई पहिचान सहितको सङ्घीयता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने कुराको समेत हामीले महसुस गरेका छौँ । अहिले मुलुकले बहुल राष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौँ ।’

रेशम भन्छनः ती नेता हाम्रो पार्टीका होइनन्
तर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले एक वर्ष अगाडि कारबाहीमा परेकाहरूले पार्टी छाडेको दाबी गरेका छन् । उनले भने– ‘अहिले नागरिक उन्मुक्ति पार्टी छाडेको भन्नेहरूलाई एक वर्ष अगाडि नै पार्टीले कारबाही गरिसकेको थियो, पार्टीमा उहाँहरू हुनुहुन्न तर पार्टीको नाम बदनाम गराउने काम गरेको छ । उनीहरू हाम्रो पार्टीका होइनन् ।’

आफूलाई नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष भन्ने विजयकुमार यादव एक वर्षअघि नै पार्टी छाडेर अर्को कुनै पार्टीमा प्रवेश गरिसकेको उनले बताए । अहिले राष्ट्रिय मुक्ति क्रान्तिमा जाँदा नागरिक उन्मुक्ति पार्टी छाडेर आएको भन्नु त्यो सरासर गलत भएको संरक्षक चौधरीले बताए ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि त्यसरी पार्टी छाडेको बारेमा आफूलाई जानकारी नरहेको बताइन् । अस्वस्थताका कारण अस्पतालमा रहेकाले त्यसबारे आफूलाई जानकारी नरहेको उनले बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार