कञ्चनपुर। कञ्चनपुरमा बुधबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
जिल्लाको दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनारको चट्याङ लागेर मृत्यु भएको हो।
सोही ठाउँका ३६ वर्षीय जगते सुनार घाइते भएका छन्। रुखमा ओत लाग्ने क्रममा उनीहरुलाई चट्याङ लागेको थियो।
घाइते जगतेको अवस्था सामान्य रहेको छ। उनको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, बुधबार नै लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।