महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत तत्वहरूलाई यथावत् राख्दै गणतन्त्रलाई थप सुदृढ बनाउन संविधान संशोधन हुने बताएका छन्।
मंगलबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले संविधान संशोधनको प्राथमिक उद्देश्य गणतन्त्रलाई सुदृढ बनाउनु रहेको बताए।
प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउनेगरी संविधान संशोधन गर्ने जानकारी दिए। “संविधान संशोधनका लागि पहिलो चरणमा संविधानको व्यापक समीक्षा हुनेछ, जसमा समस्याहरूको पहिचान गरी सम्पूर्ण राजनीतिक दलहरूसँग सहमति बनाएर संशोधन गरिनेछ,” उनले भने।
लेखकले संविधान २०७२ निर्माणको क्रममा जस्तै सर्वदलीय सहमतिमा संशोधन हुने बताए। राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमालेबीचको गठबन्धनले देशलाई दीर्घकालीन लाभ पुर्याउने विश्वास व्यक्त गर्दै उनले भने, “यो गठबन्धन परिपक्व छ र २०८४ सम्म टिक्नेछ।”
मन्त्री लेखकका अनुसार, गठबन्धन सरकार गठन भएपछि देशको शिथिल अर्थतन्त्र चलायमान भएको छ। “सरकार बन्ने र भत्किने क्रम अब रोकिएको छ, जसले गर्दा देश आर्थिक समृद्धिको दिशामा अघि बढेको छ,” उनले भने।
उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सफल हुनु पनि दुई ठूला दलबीचको गठबन्धनको परिणाम रहेको उल्लेख गरे। तीन वर्षभित्र सम्बन्धित आयोग गठन गरेर काम सम्पन्न गर्ने लक्ष्य सरकारले राखेको र यसलाई विदेशी शक्तिहरूले पनि स्वागत गरिसकेको उनले जानकारी दिए।
सहकारी सम्बन्धी कानुनी प्रक्रिया अघि बढेको र दोषीहरूले कुनै पनि हालतमा उन्मुक्ति नपाउनेमा उनले जोड दिए। गृहमन्त्री लेखकलाई धनगढी विमानस्थलमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र स्थानीय नेताहरूले स्वागत गरेका थिए।