बैतडी । सिगास गाउँपालिका वडा नं ८ स्थित लेकलुपुँड माविमा नेपाली विषय पढाउने शिक्षकको माग गर्दै विद्यार्थीहरूले आइतबार तालाबन्दी गरेका छन्। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले नेपाली विषयको शिक्षक अभावले पठनपाठनमा समस्या आइरहेकाले तालाबन्दी गर्न बाध्य भएको बताएका छन्।
लेकलुपुँड माविमा २०७८ फागुनमा शिक्षक देवसिंह धामीलाई सिगास – २ स्थित रण आधारभूत विद्यालयमा काज सरुवा गरिएपछि विद्यालयमा नेपाली विषय अध्यापन गराउने शिक्षकको अभाव भएको थियो। उक्त दिनदेखि पठनपाठन प्रभावित हुँदै आएको र अर्को शिक्षकको व्यवस्था नगरिएकाले विद्यार्थीहरूले विद्यालय बन्द गरेका हुन्।
यसअघि, भदौ ५ गते पनि विद्यार्थीहरूले शिक्षकको माग गर्दै तालाबन्दी गरेका थिए। उक्त दिन विद्यालय प्रशासनले शिक्षक व्यवस्थापन गर्ने सहमति गरेपछि तालाबन्दी खोलिएको थियो। तर, नेपाली विषयको शिक्षकको समस्या अझै समाधान नभएपछि विद्यार्थीहरूले पुनः तालाबन्दी गरेका छन्।
विद्यालयका शिक्षक उत्तमबहादुर कुँवरका अनुसार तालाबन्दीका कारण विद्यालयका शिक्षकहरूले हाजिरसमेत गर्न पाएका छैनन्।शिक्षक धामीले २०६१ सालदेखि लेकलुपुँड माविमा काम गर्दै आएका थिए र २०६८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए।
२०७८ माघमा उनले प्रधानाध्यापकको जिम्मेवारी छोडेपछि उनलाई काज सरुवा गरिएको थियो। अपमानित तरिकाले सरुवा गरिएको भन्दै उनले विद्यालय फर्किन अस्वीकार गरेका छन्, यद्यपि उनको काज फिर्ता गरिएको छ।
सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले तालाबन्दीको जानकारी पाएको र यसबारे कार्यपालिका बैठकमा छलफल गरिने बताए। उनले तालाबन्दी खोल्न आग्रह गरे पनि विद्यार्थीहरूले शिक्षकको व्यवस्था नभएसम्म तालाबन्दी जारी राख्ने अडान लिएका छन्।
तालाबन्दीका कारण कक्षा १२ सम्मको पठनपाठन पूर्ण रूपमा प्रभावित भएको शिक्षक कुँवरले जानकारी दिए।