महेन्द्रनगर । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
यो बर्षको गौरा पर्व शुक्रवार देखि केहि ठाउँमा शुरु भए पनि अधिकांश ठाउँमा शनिवारदेखि गौरा पर्व शुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
गौरा पर्वको पहिलो दिन ब्रतालु महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने गर्दछन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको छ ।
गौरापर्व सुदूरपश्चिमको मौलिक चाड हो । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने चलन रही आएको छ ।
गौरा पर्व शुरु भएसंगै यहाँका गाउँघरमा चहलपहल बढेको छ । गौराका लागि घर बाहिर रहेकाहरु समेत घर फर्किदै छन् ।