डडेल्धुरा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको अनलाइन महसुल बुझ्ने सिस्टम (सर्वर) बिग्रँदा, जिल्लामा विद्युत् महसुल भुक्तानी अस्थायी रूपमा रोकिएको छ। करिब ९४ प्रतिशत विद्युतीकरण भएको डडेलधुराका ग्राहकहरू नियमित महसुल तिर्दै आएका छन्, तर आइतबारदेखि सर्भर डाउन भएपछि भुक्तानी प्रक्रिया स्थगित गरिएको हो।
कार्यालय प्रमुख रमेश अवस्थीका अनुसार, सर्भर मर्मतका लागि आवश्यक सिपियु उपकरण काठमाडौँ पठाइएको छ र सर्भर मर्मतपश्चात् आइतबारदेखि पुनः सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ। सर्भर बिग्रँदाको समयमा महसुल बुझाउन हुने ढिलाइका कारण ग्राहकलाई कुनै जरिबाना नलाग्ने जानकारी पनि अवस्थीले दिनुभएको छ।
डडेलधुरामा कुल १६,५०० ग्राहक छन्, जसमा करिब आठ हजार ग्राहक भित्री मधेश क्षेत्रका परशुराम नगरपालिका र आलीताल गाउँमा रहेका छन्। प्राधिकरणको तथ्यांकअनुसार, जिल्लाको ९४.०८ प्रतिशत घरधुरीमा विद्युतीकरण सम्पन्न भइसकेको छ भने परशुराम नगरपालिका र आलीताल गाउँपालिकाका केही बस्तीमा अझै विद्युतीकरण हुन बाँकी छ। साथै, करिब एक करोड रुपैयाँ बक्यौता रकम पनि असुल गर्न बाँकी रहेको जानकारी प्राप्त भएको छ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा शतप्रतिशत विद्युतीकरण भएको छ भने बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत विद्युतीकरण मात्र भएको छ।