महेन्द्रनगर । मकवानपुरको मनहरी गाउँपालिका–६, प्रतापपुरमा बिहीबार बिहान एक अनौठो घटना भएको छ। बलबहादुर राईको गोठमा बाँधिएको भैंसीले प्रहार गर्दा एक बाघको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बिहान करिब ३ बजे बाघ मृत अवस्थामा भेटिएको हो।
घटनास्थलमा पुगेका प्रहरीले भैंसीलाई घाइते अवस्थामा फेला पारेका छन्। भैंसीको घाइते अवस्था र बाघको मृत्युलाई जोड्दै, प्रहरीका अनुसार बाघले आक्रमण गर्न खोज्दा भैंसीले प्रतिकार गरेको र यही क्रममा बाघको मृत्यु भएको हुनसक्छ।
मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहाका नेपाली सेनाको टोलीले पोष्टमार्टमका लागि कसरा लगेको छ। चितवन निकुञ्जको सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरका अनुसार, बाघ निकै बूढो, कमजोर र दुब्लो अवस्थामा रहेको थियो। आक्रमणको क्रममा भैंसीले बाघलाई मारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, कमजोर र बूढो बाघ जंगलमा शिकार गर्न नसकेर बस्तीतिर पसेको हुनसक्छ। कमजोर अवस्थामा पुगेपछि अरु बाघसँग प्रतिष्पर्धा गर्न नसकेर बस्ती छिरेको र भैंसीले प्रतिकार गर्दा मृत्यु भएको अनुमान छ।
मृत बाघको आयु लगभग १५ वर्षको रहेको र घाँटीमुनिको भागमा चोट लागेको छ भने भैंसी पनि घाइते भएको छ। घटना स्थल चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३०० मिटरको दूरीमा पर्ने लोथर मध्यवर्ती क्षेत्र हो।