महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको बजेट पुनर्लेखनको काम तीव्र रूपमा अघि बढिरहेको छ। यसअघि मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले पेस गरेको बजेट भदौ १२ भित्र फिर्ता लिई नयाँ बजेट निर्माणको तयारी भइरहेको छ। संघीय सरकारले अनुदान रकममा २ अर्बभन्दा बढी कटौती गरेपछि बजेटको आकार घट्न लागेको छ। आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले पुरानो बजेटमा संशोधन गरी यथार्थपरक बजेट ल्याउने तयारी भइरहेको बताए।
उनका अनुसार, २५ लाखभन्दा कमका योजना बजेटमा समावेश नहुने र धेरै योजना हेरफेर गर्नुपर्नेछ। यता, बजेट पुनर्लेखनको प्रक्रिया चलिरहँदा मन्त्रालयमा योजना माग्न दल निकट नेता, स्थानीय तहका जनप्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिहरूको भीड लागेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले पनि नयाँ बजेट निर्माण र वार्षिक कार्यक्रम पुनर्लेखनको तयारी भइरहेकाले मन्त्रालयमा योजना माग्नेहरूको चाप बढेको जानकारी दिएका छन्। साउन २१ मा गठित शाह नेतृत्वको नयाँ सरकारले बजेट पुनर्लेखन गरिरहेको भए पनि कानुनी संकट कायमै छ। बजेट पुनर्लेखनसँगै असार २४ गतेदेखि रोकिएको राजस्व संकलनका काम पुनः सुरु भए पनि विनियोजनसम्बन्धी कानुनी रिक्तता कायम छ, जसका कारण प्रदेश सरकार दैनिक खर्च समेत गर्न असमर्थ छ।
मुख्यमन्त्री शाहले आगामी बजेटमा २५ लाखभन्दा कमका योजना नसमेटिने र उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगर्ने स्पष्ट पारेका छन्।