काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन्। काठमाडौंमा समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा आयोजित कार्यक्रममा देउवाले संविधान संशोधनका लागि सहमतिको आवश्यकता रहेको र यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिए।
देउवाले भने, “दुनियाँभर उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने चलन छ। हामी पनि यो सम्भावना अध्ययन गरिरहेका छौं। कांग्रेस र एमालेबीचको सहमति कुनै पार्टीविरुद्ध छैन, र यसलाई कुनै शंका गर्न आवश्यक छैन।” उनले माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको दललगायत सबै पार्टीलाई समेटेर अघि बढ्ने धारणा राखे।
सहमतिकै आधारमा संविधान संशोधन हुने बताउँदै, देउवाले सबै पक्षलाई विश्वासमा लिएर काम गर्नुपर्नेमा जोड दिए।