सुदूरपश्चिममा गौरा पर्वको सुरुवात: भदौ ७ र ८ गतेदेखि धार्मिक विधिका साथ प्रारम्भ

प्रकाशित:

बैतडी। सुदूरपश्चिम नेपालको प्रमुख सांस्कृतिक पर्व ‘गौरा पर्व’ यस वर्ष भदौ ७ र ८ गतेबाट सुरु हुने भएको छ। विभिन्न स्थानहरूमा धार्मिक परम्पराअनुसार फरक-फरक तिथिमा गौरा पर्वको सुरुवात गरिने भएकाले कुनै ठाउँमा भदौ ७ गतेबाट भने कुनै ठाउँमा भदौ ८ गतेबाट पर्व मनाउन थालिएको हो।

गौरा पर्व विशेषगरी बैतडी, डोटी, अछाम, डडेलधुरा, कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा विशेष चाडका रूपमा मनाइन्छ। यस पर्वको मुख्य विशेषता भनेको ‘बिरुडा’ (पाँच प्रकारका अन्न) लाई विभिन्न धार्मिक विधिअनुसार भिजाउने, धुने, भित्र्याउने र अन्ततः अष्टमीका दिन ‘अठ्यावाली’ (गौरा पुजाको मुख्य दिन) मा विशेष पूजा गर्ने चलन रहेको छ।

धार्मिक परम्पराअनुसार भाद्र कृष्ण पञ्चमीमा बिरुडा भिजाइन्छ, षष्ठीका दिन बिरुडा धुने गरिन्छ र सप्तमीका दिन गौरा भित्र्याइन्छ। अष्टमीका दिन मुख्य दिन ‘दुर्वाष्टमी’ अर्थात अठ्यावाली मनाइन्छ, जसमा विशेष पूजा आराधना गरी शुभ साइत हेरेर गौरा समापन गरिन्छ।

यस वर्ष ज्योतिषहरुको परामर्शअनुसार केही ठाउँमा भदौ ७ गते बिरुडा पञ्चमीको रूपमा मनाइनेछ भने अन्य ठाउँमा भदौ ८ गते बिरुडा धुने विधिसँगै पर्वको सुरु हुनेछ। ज्योतिष डिल्लीराज जोशीका अनुसार तिथी घटबढका कारण धोइ गौरा मनाउनेहरूले भदौ ८ गतेबाट बिरुडा भिजाउने र त्यसपछि पर्वको अन्य विधि पूरा गर्नेछन्। यसैगरी, ज्योतिष कृष्णानन्द अवस्थीका अनुसार ‘बाटा गौरा’ मनाउने ठाउँमा भने भदौ ७ गतेबाट नै गौरा पर्वको सुरु हुने परम्परा रहेको छ।

पण्डित शिवराज भट्टले स्थानीय संस्कृतिको व्याख्या गर्दै गौरा पर्वको विस्तृत जानकारी दिएका छन्। उनका अनुसार ‘बाटा गौरा’ मनाउने ठाउँमा भदौ ७ गते बिरुडा पञ्चमी, भदौ ८ गते नानी गौरा अर्थात बिरुडा धुने, भदौ ९ गते ठूली गौरा अर्थात गौरा भित्र्याउने र भदौ १० गते दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइन्छ।

यो पर्व विशेषगरी सुदूरपश्चिमको परम्परा, संस्कार र सामाजिक एकतालाई बलियो बनाउने सांस्कृतिक माध्यमको रूपमा रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार