महेन्द्रनगर । भीमदत्त नगरपालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि आवश्यक जमिन प्राप्त गर्न नसक्दा परियोजना नै अन्योलमा परेको छ। स्थानीय बासिन्दाको अवरोधका कारण नगरपालिकाले आवश्यक जग्गा सुनिश्चित गर्न नसक्दा, एसियाली विकास बैंक एडीबी को सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित ६० करोडको परियोजना ठप्प भएको छ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीका अनुसार, केन्द्र निर्माणका लागि चयन गरिएका स्थानमा स्थानीय समुदायले विरोध जनाएपछि समस्या उत्पन्न भएको हो। एडीबी को तीन अर्ब ऋण सहयोगमा अघि बढाइएको क्षेत्रीय सहरी विकास योजनामा फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण पहिलो प्राथमिकता थियो। तर, आवश्यक २० बिघा जमिनको अभावमा, योजना नै खतरामा परेको बोगटीले बताए।
नगरपालिकाले यस विषयमा राजनीतिक दलका जिल्ला, नगर, र वडा स्तरका नेताहरूसँग पटक-पटक छलफल गरे पनि समाधानमा प्रगति हुन सकेको छैन। नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका ७ सय घरबाट दैनिक ७.२९ टन फोहर संकलन गरी व्यवस्थापन गर्दै आएको छ। नगरपालिकाले ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका कामको ९० प्रतिशत हिस्सा पूरा गरिसकेको भए पनि, फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढ्न नसक्दा परियोजनाको भविष्य अन्योलमा परेको छ।
नगर प्रमुख बोगटीले यसअघिको सरकारले जग्गा प्राप्तिका लागि प्रयास गरे पनि सफलता नपाएको बताए। भीमदत्त नगरपालिका वडा नम्बर ३, ७, र ९ का विभिन्न स्थानमा जमिन प्राप्त गर्ने प्रयास गरिएको थियो, तर स्थानीय बासिन्दाले बजारबाट संकलित फोहर आफूहरुको क्षेत्रमा फालिने डरले यो योजना अघि बढ्न दिएनन्।
बोगटीका अनुसार, नगरपालिकामा राष्ट्रिय वनको अभाव छ, जबकि सामुदायिक वनमा पनि जमिन पाउन कठिनाइ भइरहेको छ। “जमिन पाएपछि बजेटको समस्या छैन, तर जग्गा प्राप्ति मुख्य चुनौती बनेको छ,” उनले भने। नगर प्रमुख बोगटीले अब फेरि सर्वदलीय बैठक राख्ने तयारीमा रहेको र योजना अघि बढाउन आफ्नो प्रयास जारी राख्ने बताए।