देउवाको विश्वास : टीआरसी विधेयक कानुन बनेपछि द्वन्द्व पीडितहरूले न्यायको अनुभूति गर्नेछन्

प्रकाशित:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्याय प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

बुधबारको प्रतिनिधि सभाको बैठकमा टीआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग) सम्बन्धी विधेयकमाथि छलफल भइरहेको थियो। यो अवसरमा देउवाले सशस्त्र द्वन्द्वका घटनाहरूले नेपाली समाजलाई गहिरो पीडा दिएको र धेरै पीडितहरूले लामो समयदेखि न्यायको खोजी गरिरहेका बताएका छन्।

उनले भने, “उचित परिपूरण नपाउँदा पीडितहरू र तिनका परिवारजनले अझै पनि पीडा भोग्नुपरेको छ। यो विधेयक कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्नेछन् भन्ने मैले विश्वास लिएको छु।”

देउवाले शान्ति प्रक्रियाको बाँकी रहेका कार्यभारहरू पूरा गर्न यो विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, “यो विधेयकले द्वन्द्वको पुनरावृत्ति रोक्न, पीडितहरूलाई परिपूरण प्रदान गर्न, र सत्यको अन्वेषण गर्न आवश्यक कानुनी आधार तय गर्नेछ।”

देउवाले यो विधेयक नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागि पनि उदाहरणीय हुने दाबी गरे। “नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेका नीतिहरू विश्वका लागि अनुकरणीय बन्न सक्छन्। यो विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यताहरूलाई सम्बोधन गरेको छ,” उनले थपे।

उनले सरकारलाई प्राकृतिक प्रकोप र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई तत्काल उचित परिपूरणको व्यवस्था गर्न आग्रह गर्दै, यस्ता घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उनले सबै राजनीतिक दल, नागरिक समाज, र सरोकारवालाहरूलाई यो विधेयकलाई प्रभावकारी बनाउन सहयोग गर्न आह्वान गरे। “म सबै द्वन्द्वपीडितहरू, सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शान्ति प्रक्रियाको बाँकी रहेको काम समाप्त गर्न सहयोगका लागि अपील गर्दछु,” देउवाले भने।

सभापति देउवाले भने, “यो विधेयकलाई कानुनको रूपमा कार्यान्वयन गर्दा द्वन्द्व पीडितहरूले न्याय प्राप्त गर्नेछन्। यो नेपालको शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण अध्याय हो, जसले देशलाई स्थायित्वतर्फ अघि बढाउन मद्दत गर्नेछ।”

यस क्रममा उनले सबैलाई एक ठाउँमा उभिएर शान्ति प्रक्रियाको बाँकी कामहरू पूरा गर्न, र द्वन्द्वको पुनरावृत्ति रोक्न प्रतिबद्ध रहन आग्रह गरे। “नेपालको इतिहासले सुम्पेको यो जिम्मेवारी हामी सबै मिलेर पूरा गर्नुपर्नेछ,” देउवाले जोड दिए।

 

ताजा समाचार

सम्बन्धित समाचार