महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अन्य पालिकाबाट ल्याइने तरकारीमा कर लगाउन थालेको भन्दै शब्जीमण्डी बन्द गरिएको हो। नगरपालिकाले स्थानीय उत्पादनसँगै अन्य जिल्लाबाट ल्याइने तरकारीमा पनि प्रतिक्विन्टल ३० रुपैयाँ कर लगाउने नीति अपनाएको छ। यसका कारण किसान र व्यवसायीहरू आन्दोलित भएका छन्।
मंगलबारदेखि व्यवसायीहरूले शब्जीमण्डीका तरकारी पसल बन्द गरेका छन् र किसानहरूले बजारमा तरकारी ल्याउन बन्द गरेका छन्। शब्जीमण्डी बन्द हुँदा जिल्ला बाहिरबाट आउने तरकारी समेत बन्द भएको छ। यसले गर्दा सेवाग्राहीहरूले बिहानै तरकारी किन्न शब्जीमण्डी पुगे पनि रित्तो हात फर्कनु परेको छ।
नगरपालिकाले भने आर्थिक ऐनको अनुसार कर संकलन गर्दै गरेको दाबी गरेको छ। महेन्द्रनगर र आसपासका बजारमा दैनिक १० टनसम्म तरकारी खपत हुने गरेको छ र शब्जीमण्डीमा दैनिक करिब ६० लाख रुपैयाँको कारोबार हुने गरेको मण्डी व्यवसायी संघले जनाएको छ।