सहजपुर–बिपीनगर–बोगटान सडकको कालोपत्रे कार्य सम्पन्न, डिभिजन कार्यालयलाई हस्तान्तरण

प्रकाशित:

गोदावरी । बिपीनगर–बोगटान सडकको ५० किलोमिटर खण्डको कालोपत्रे काम सम्पन्न भइ डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिएको छ। पिएलआर–कुमार जेभीले यो सडक निर्माण कार्य पूरा गरेको हो।

सिनियर डिभिजनल इन्जिनियर सबिन जोशीका अनुसार, गत आर्थिक वर्षको असार २६ गते सडक निर्माणको सबै प्रक्रिया सम्पन्न भएर नेपाल सरकारको मातहतमा रहेको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ। कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्मको ५० किलोमिटरमध्ये तीन सय ५० मिटर बाहेक सबै सडक कालोपत्रे गरिएको बताइएको छ।

आयोजना कार्यालयका अनुसार, सडक बोर्ड मार्किङ, जेब्रा क्रसिङलगायतका सम्पूर्ण काम पनि पूरा भई निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको छ। सडक निर्माणमा विभिन्न बाधा, जस्तै क्षेत्राधिकारको विवाद, रुख कटान अनुमतिमा ढिलाइ, चट्टानको समस्या, र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको जनाइएको छ।

सहजपुरदेखि डोटीको बडीकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रे गर्न ३६ महिनाको सम्झौता भएको थियो, तर सम्झौताकै पाँच वर्षपछि यो सडक निर्माण पूरा भएको छ। सम्झौताअनुसार, सडकमा सात मिटर चौडा कालोपत्रे र दायाँबायाँ एक–एक मिटर सोल्जर (ग्राभेल) बनाइने थियो।

सडक निर्माण एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा सम्पन्न भएको हो, र सम्झौतामा १ करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर खर्च भएको जनाइएको छ। सडकको ट्र्याक खोल्ने काम २०४३ सालदेखि सुरु भएको थियो।

सहजपुर–बिपीनगर–बोगटान सडक कैलालीको सहजपुरबाट सुरु भएर डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ। यसका साथै, परियोजना कार्यालयले सर्वेक्षण अनुसार सडकको कुल लम्बाइ १०८ किलोमिटर रहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार