कञ्चनपुरमा बाढीका कारण धानखेती र घर जोखिममा

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्काएर स्थानीयको धानखेती र घरलाई संकटमा पारेको छ। बाढीको कारण धानखेतीको क्षेत्र कटान हुन थालेको छ भने चार घर जोखिममा परेका छन्। एक परिवार विस्थापित भएको छ।

स्थानीय अर्जुन नाथका अनुसार, बाढीले नहर भत्किएपछि धानखेतीमा ठूलो क्षति पुगेको छ र कटान रोक्न अस्थायी तटबन्धको माग गर्दा पनि कुनै निकायबाट सहयोग प्राप्त भएको छैन। “प्लास्टिकले खेतलाई बचाउने प्रयास गरिरहेका छौँ,” उनले भने, “महाकाली सिँचाइ र नगरपालिका दुवैमा धाउँदै पनि सहयोग प्राप्त भएन।”

स्थानीयहरूका अनुसार, महिना दिन पुग्न लाग्दा पनि कुनै निकायले समस्या समाधानको पहल नगरेको गुनासो गर्दै, मन्त्री र सांसदहरूले स्थलगत अवलोकन गरे पनि प्रभावकारी कदम चालेका छैनन्। “हाम्रो करिब दुई कट्ठा धानखेती कटान भइसकेको छ,” स्थानीय किरण नाथले भने। तीन परिवारको पाँच कट्ठा धानखेती पनि कटान भएको छ र अहिले २० मिटर मात्र बाँकी रहेको खेतका कारण घरको स्थिति पनि जोखिमपूर्ण छ।

वडा सदस्य पशुपति सार्कीले पनि बाढीले नहर भत्किएपछि स्थानीयको धानखेती र घर जोखिममा परेको पुष्टि गर्दै, कटानले ब्रह्मदेव सडकलाई समेत असर गरेको बताए। “कटानले गर्दा सडक भत्केर आवतजावत बन्द भएको छ,” उनले भने।

रासस

ताजा समाचार

सम्बन्धित समाचार