दोधारा । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु महाकाली नदी र जगबुडा नदीबाट जोगाउनका लागि झण्डै एक साता देखि संघिय सरकारका विभिन्न मन्त्रालयहरुमा धाईरहेका छन् ।
नगर प्रमुख लिम्बु महाकाली नदीका कारण बर्षेनी आउने विपद दिगोरुपमा हटाई नगरबासिलाई बाढीबाट जोगाउनका लागि केही दिन देखि काठमाण्डौमा संघिय सरकारका विभिन्न मन्त्रालयमा मन्त्री तथा कार्यालय प्रमुख संग हारगुहार गरिरहेका हुन् ।
त्यसै क्रममा नगर प्रमुख लिम्बुले गृह मन्त्रालयका गृहमन्त्री रमेश लेखकसंग भेट गर्ने कार्यक्रम तय भएको नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ।
उहाँले गृहमन्त्री लेखक संग भेट गरि दोधारा चाँदनी नगरपालिकामा बाढी दिदै आएको पिडा र वन्यजन्तुले गरेको मानविय र किसानहरुको अन्नवालीको क्षतीको बारेमा जानकारी गराउनुहुने भएको छ ।
दोधारा चाँदनी नगरपालिकाका बासिन्दाले बर्षेनी झेल्दै आएको बाढी र वन्यजन्तुको समस्यालाई दिर्घकालिनरुपमा समाधान गर्न संघिय सरकारका बिभिन्न मन्त्रालय धाउदै आउनुभएको छ।
नगर प्रमुख लिम्बुले सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्ता, उद्योग मन्त्री दामोदर भण्डारीलाई समेत भेट गरिसक्नुभएको छ।
मध्यवर्ती क्षेत्रको कारणले पर्यटन विकासमा बाँधा आएको बताउदै विहिवार वन तथा भूसंरक्षण विभाग र भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहलमा पुगी नगर प्रमुख किशोर कुमार लिम्बुले ज्ञापन पत्र बुझानुभएको छ।
‘मध्यवर्ती क्षेत्रको कारणले पर्यटन विकासमा काम गर्न नदिएपछि नगरपालिका भित्रको जग्गा नगरपालिकाले प्रयोग तथा भोगचलन गर्न पाउने अधिकारको लागि वन तथा भूसंरक्षण विभाग र भूमी व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल सम्म पुगेको छु’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भने ।
यस्तै महाकाली नदी र जगबुडा नदी र वन्यजन्तुले स्थानियहरुलाई दिदै आएको पिडालाई लिएर नगर प्रमुख लिम्बुले केही दिन अघि मात्रै प्रधानमन्त्री केपि शर्मा ओलीलाई पनि भेट गर्नुभएको थियो ।