कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा पानीको निकासको समस्या अहिले गम्भीर बन्दै गएको छ। वर्षात्को पानीको निकास थुनिँदा बजारको अवस्था दयनीय भएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएको बजार क्षेत्रमा ह्युमपाइप थुनेर बनाएका पक्की घरहरूले पानीको निकासलाई थुनेका छन्, जसका कारण बजार बारम्बार जलमग्न भइरहेको छ। स्थानीय बासिन्दा गणेशबहादुर ऐरले यो समस्याको समाधानका लागि सम्बन्धित निकायलाई बारम्बार अनुरोध गर्दा पनि कुनै प्रभावकारी कदम नचालेको बताएका छन्।
समस्या अझै गम्भीर भएको छ, खासगरी सडक अतिक्रमण र घर निर्माणले गर्दा पानीको निकासमा थप कठिनाइ भएको छ। यसका कारण यात्रु, विद्यार्थी र सर्वसाधारणलाई निकै सास्ती भोग्नु परिरहेको छ। सामाजिक कार्यकर्ता नवराज पन्तले यो मानव सिर्जित समस्या भएकाले स्थानीय तहलाई यसलाई तत्काल समाधान गर्नुपर्ने बताएका छन्। उनले दोषीमाथि कारबाही नभएकोले समस्याको दीर्घकालीन समाधान हुन नसकेको पनि उल्लेख गरेका छन्।
सार्वजनिक शौचालय पनि पानीको निकास नहुँदा प्रयोगविहीन बनेको छ। यसले पानीजन्य सङ्क्रामक रोगको सम्भावना बढाएको छ। बजार क्षेत्रको सडक र व्यवसायीका पसलहरूमा पानी पसेकोले समस्या झनै विकराल भएको छ। स्थानीय बासिन्दाले पालिकाविरुद्ध सङ्घर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन्।
नगर उपप्रमुख कल्पना पन्तले भने, “पानीको निकासको समस्या समाधान गर्न हामीले नगरपालिका कार्यालयमा बैठक राखेका छौँ। निकास नखोले सडक क्षेत्र अतिक्रमण गरी बनाएको संरचना हटाउने वा कानुनी प्रक्रियामा जाने बारे छलफल भइरहेको छ। आवतजावतलाई सहज बनाउन ग्राभेल राख्ने काम भइरहेको छ।”