महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास स्थित जैविक जलाशय प्यारा तालमा शनिवार वृक्षारोपण गरिएको छ।
प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिको आयोजित वृक्षारोपण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विधायन समितिका सभापति एवं प्रदेशसभा सदस्य दिवानसिंह बिष्ट, सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा. हरिप्रसाद लम्साल, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालले ताल परिसरमा बिरुवा रोपेर वृक्षारोपण अभियानको सुरुआत गरेका थिए ।
तालको जैविक पहिचानलाई उजागर गर्दै पर्या पर्यटन बिकासका लागि नागरिकस्तरबाट पहल सुरु गरिएको प्यारा ताल परिसरमा फूल प्रजातिका ज्याकारन्डा (वीरेन्द्र फूल), कल्की, गुल मोहर र रैथाने जातको राजवृक्षलगायतका बिरुवाहरू रोपिएको प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए।
ताल परिसरमा फूल प्रजातिका बोटबिरुवा वृक्षारोपण गरी जैविक पर्यटकीय क्षेत्र प्यारा ताललाई हराभरा र सुन्दर बनाउने अभियान सुरु गरिएको समितिका सचिव प्रेमप्रसाद जैसीले बताए।