कैलाली । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो ।
भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो ।
आव २०८०/८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत २० करोड ४४ लाख र अन्य शुल्क बापत एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले बताए ।
भन्सार कार्यालयले आव २०८०र८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०७९/८० मा आठ अर्ब २९ करोड राजस्व सङ्कलन गरेको थियो ।
आव २०७८/७९ मा नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७र७८ मा आठ अर्ब ८४ करोड सङ्कलन भएको थियो ।
यसै गरी, आव २०७६/७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो भने आव २०७५र७६ मा पाँच अर्ब १९ करोड सङ्कलन गरेको कार्यालयले जनाएको छ । रासस