महेन्द्रनगर । कञ्चनपुरमा तरकारीको मुल्य तीनगुणाले वृद्धि भएको छ ।गत असारमा आएको लगातारको वर्षा र डुबानपछि तरकारीको मुल्य वृद्धि भएको शब्जीमण्डी व्यवसायि संघले जनाएको छ ।
बाढीले तरकारीका बोट नै कुहिएपछि तरकारीको भाउ आकासिएको शब्जीमण्डी व्यवसायि संघ महेन्द्रनगरका अध्यक्ष विशाल सोनारले जानकारी दिए । उनका अनुसार अहिले बजारमा तरकारीको मूल्य तीन गुणाले बढेको छ ।
हाल टमाटर प्रतिकिलो दुई सय, लौका र फर्सी डेढ सय, करेला दुई सय, आलु एक सय, काक्रा दुई सय रुपैयाँमा बिक्री भइरहेको छ । एक हप्ता अगाडी यीनै तरकारीको मूल्य प्रतिकिलो ५०÷६० रुपैयाँ हाराहारी थियो ।
“बाढीपछि एक्कासी तरकारीको मुल्य तीन गुणाले वृद्धि भएको छ ।” अध्यक्ष सोनारले भने–“बाढीले किसानको ८० प्रतिशत तरकारी सबै नष्ट गरिदिएको छ ।” उनले प्राकृतिक प्रकोपका कारण मुल्य वृद्धि भएको बताए ।
“यहाँ मात्रै होइन पहाडी जिल्लाहरुबाट आउने तरकारीमा पनि मुल्य वृद्धि भएको छ ।” उनले भने–“भारतबाट आयात हुने तरकारीमा समेत मुल्य वृद्धि भएको छ यो सबै बाढीका कारणले हो ।” तरकारीमा मुल्य वृद्धि भएपछि सेवाग्राही मार्कामा परेका छन । “अहिले तरकारी अत्यन्त महंगो छ सहज रुपमा उपलब्ध भइराखेको अवस्था पनि छैन ।
” अहिले महेन्द्रनगरमा दैनिक तीसदेखी चालिस टनसम्म तरकारी बाहिरबाट आयात हुने गरेको छ । टमाटर र आलु भारतीय बजारबाट आयात हुने गरेको छ भने अन्य तरकारी डडेल्धुराबाट आयात हुने गरेको छ ।