Saturday, July 13, 2024

बेलौरीमा ठेकेदारको लापर्बाहीका कारण १५ शय्याको नगर अस्पताल अलपत्र

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा ठेकेदार कम्पनीको लापर्बाहीका कारण १५ शय्याको नगर अस्पताल अलपत्र परेको छ । बेलौरीमा नगर अस्पताल समयमै नबन्दा स्थानीय जनता मर्कामा परेका छन् ।

ठेक्का सम्झौता भएको तीन वर्ष बित्दापनि बेलौरी नगरपालिकामा नगर अस्पताल बन्न सकेको छैन् । सीएम प्रसंशा रश्मि जेभीले बेलौरी नगरपालिका संग २०७८ असोज १५ गते नगर अस्पताल निर्माणकालागि ठेक्का सम्झौता गरेको हो ।

नगर अस्पताल भवन निर्माणकालागि ठेकेदार कम्पनीले १० करोड ८३ लाखमा बेलौरी नगरपालिका संग सम्झौता गरेको हो ।

उक्त सम्झौता भएको मितिले ठेकेदार कम्पनीले दुई वर्ष अर्थात ०८० असोज १५ सम्म काम सम्पन्न गर्नुपर्नेमा एक वर्ष म्याद थपेर ०८१ असोज १५ भित्र बैलौरी नगरपालिकालाई नगर अस्पताल भवन हस्तान्तरण गरिसक्नुपर्ने हो ।

यद्यपी निर्माण कम्पनीको लापर्बाहीका कारण हालसम्म पनि उक्त अस्पताल भवनको निर्माण कार्यले पुर्णता पाउन नसकेको नगरपालिकाका इन्जिनियर जगदिश जोशीले बताए ।

०८० असोज १५ मै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा एक वर्ष थप गर्दापनि हाल सम्म अस्पताल भवन निर्माण कार्यले गति पाउन सकेको छैन् । कार्यालयले पटक–पटक पत्राचार गर्दा समेत ठेकेदार कम्पनी सम्पर्कमै नआउने गरेको इन्जिनियर जोशीले दुखेसो गरे ।

‘हामीले निर्माण कम्पनीलाई पटक–पटक सम्पर्क तथा पत्राचार गरेका छौं । त्यति गर्दापनि निर्माण कम्पनी फिल्डमा काम गर्न आउदैन ।’ इन्जिनियर जोशीले भने, ‘म्याद थप गर्दापनि काम सम्पन्न भएको छैन्, अस्पताल भवन अलपत्र परेको छ ।’

कञ्चनपुरका अधिकांश स्थानिय पालिकाहरुमा नगर/गाउँ अस्पतालहरु निर्माण सम्पन्न भएर सेवा प्रवाह गर्न थाले पनि बेलौरी नगरपालिकामा भने ठेकेदारकै लापर्बाहीका कारण नगर अस्पताल अलपत्र परेको स्थानियहरुको गुनासो छ ।

अन्यपालिकाहरुका जनताले आफ्नै गाउँघरको अस्पतालबाट सेवा पाउन थालेको तर आफुहरु ठेकेदारको कारण मर्कामा परेको स्थानीय केशव प्रसाद जैशीले बताए ।

त्यस्तै बैलौरीबाट अस्पताल जान महेन्द्रनगर वा धनगढी पुग्नुपर्ने बाध्यताको अत्य होला भन्ने आशामा बसेका दुर्गादत्त बडू, अस्पताल भवन निर्माण कार्य छिटो सम्पन्न हुनुपर्ने बताउछन् ।

निर्माण कम्पनीको लापर्बाहीका कारण बैलौरीका स्थानीय मर्कामा परेको स्थानीय बुद्धिजिविको ठहर छ । पटक पटक ठेकेदार कम्पनीलाई पत्राचार गर्दापनि निर्माण कार्यमा तदारुकता नदेखाएको प्रति नगरपालिका कार्यालय समेत ससंकित भएको छ ।

निर्माण कम्पनीले स्थानीय लेबर तथा मजदुरहरुको ज्याला मदजुरी समेत नदिएको गुनासो बढ्न थालेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार