सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो ७ महिनाको अवधिमा सुदूरपश्चिममा चारसय नौ जनामा स्क्रब टाइफस र एकसय १६ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । निर्देशनालयको तथ्यांकअनुसार प्रदेशकै सबैभन्दा बढी स्क्रब टाइफसका बिरामी डडेल्धुरामा एकसय ९१ जना रहेका छन् ।

यस्तै कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा ७,बझाङमा ७ र बाजुरामा एकजना संक्रमित रहेका छन् । यसका साथै डेङ्गु संक्रमण डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा ५, दार्चुला ३, डडेल्धुरा एकजनामा देखा परेको छ। वर्षात शुरु भएसँगै डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै जान थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । परीक्षण नगराएका व्यक्तिहरुमा समेत डेङ्गु र स्क्रब टाइफसको संक्रमण हुन सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।

वर्षातको समयमा किर्नालगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका हुन् । पशुचौपायाहरु घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ। माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

साथै एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ। मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार