बजेट अभावले महाकाली पुल उद्घाटनमा समस्या

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महाकाली पुल निर्माणको काम गरेका निर्माण कम्पनीलाई भुक्तानीका लागि बजेट अभाव भएको छ। नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा पुलको काम गरेका निर्माण कम्पनीहरूलाई ३५ करोड रुपैयाँ दिन बाँकी रहेको हो।

निर्माण कम्पनीहरूले चालु आर्थिक वर्षमा मात्र ३० करोडको काम गरेका छन्। गत आर्थिक वर्षको भुक्तानी चालु आर्थिक वर्षमा भएपछि यो वर्ष काम गरेका निर्माण कम्पनीहरूले भुक्तानी पाएका छैनन्। निर्माण कम्पनहरूले काम गरेको भुक्तानी दिन आयोजना कार्यालयले ३५ करोड बजेट माग गरेको थियो। तर, सङ्घीय सरकारले बजेट दिएको छैन। विभागमा आन्तरिक स्रोतको रकम पनि सकिएकाले समस्या भएको पुल योजना कार्यालयले बताएको छ। आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १६ करोड ३० लाख मात्र बजेट विनियोजन गरिएको छ।

चालु आर्थिक वर्ष काम गरेका निर्माण कम्पनीहरूलाई आगामी आर्थिक वर्षसम्म पनि योजना कार्यालयले भुक्तानी दिन नसक्ने भएको हो। महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण गरिएको हो। ३४ वटा पिल्लर र ३२ वटा सल्यापसहितको पुलको काम सकिएको छ। पुलमा रङ्गरोगनको काम हुँदैछ। भदौमा पुलको उद्घाटनको तयारी गरिएको थियो। तर, निर्माण कम्पनीहरूको काम गरेको भुक्तानी दिन बाँकी रहेकाले उद्घाटनमा समस्या भएको छ।

महाकाली पुल योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङले १५० मिटर सडक र नदी नियन्त्रण बाहेकको काम सकिएको बताए। तर, पुरानो भुक्तानी दिन बाँकी हरेकाले पुलको औपचारिक उद्घाटनमा समय लाग्ने उनले बताए। उनले भने, ‘९१ प्रतिशत वित्तीय प्रगति भएको छ। भौतिक प्रगति एक सय प्रतिशत भएको छ। तर, बजेट अभाव छ। पुरानो भुक्तानी यो आर्थिक वर्षमा तिरेका छौ। यो वर्ष काम गरेको ३० करोड दिन बाँकी छ। ३५ करोड बजेट माग गरेका थियौ। तर, विभागमा बजेट छैन भन्ने छ। आन्तरिक स्रोत सकिएको रहेछ। आगामी आर्थिक वर्षका लागि पनि १६ करो ३० लाख मात्र बजेट दियो।’ महाकाली पुल योजना कार्यालयका लागि चालु आर्थिक वर्षमा ३५ करोड बजेट विनियोजन गरिएको थियो।

महाकाली पुलको दुवैतर्फ सात दशमलव ६ किलोमिटर पहुँच मार्ग निर्माण गर्न ठेक्का भएकोमा १५० मिटर मात्र बाँकी रहेको हो। गड्डाचौकी भन्सार कार्यालय क्षेत्रको १५० मिटर सडक कालोपत्रको काम बाँकी हरेको छ। अन्य क्षेत्रमा सडक कालोपत्रको कामसमेत सकिएको छ। चालु आर्थिक वर्षमा १५० मिटर सडक कालोपत्रको काम पूरा हुने प्रमुख गुरुङले बताएका छन्। उनले भने, ‘१५० मिटर सडक कालोपत्रको काम बाँकी छ। यो वर्ष पूरा हुन्छ। जग्गाको स्वामित्व नभएकाले ढिलो भयो। भन्सार कार्यालय क्षेत्रको जमिन अर्थ मन्त्रालय मातहतको हो।

स्वीकृत लिएर काम गर्दै छौ। तर, भूमिसुधार मन्त्रालयले स्वामित्व हस्तान्तरण गरेको छैन्। चार महिना भयो, भूमिसुधार मन्त्रालयमा फाइल गएको।’ भीमदत्त नगरपालिका–१३ ओदाली र महाकाली नगरपालिका–१ चाँदनीलाई जोडनेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए। आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्नेगरि कुमार सिएफइसी जेभीसँग तीन अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो।

पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना छ। पोखरी सम्याउने र पाइप विस्तारको काम हुँदैछ। नदी नियन्त्रणको काम रोकिएको र पोखरीको काम जारी हरेको योजना कार्यालय प्रमुख रामबहादुर गुरुङले बताए। महाकाली नदी नियन्त्रणको काम भने रोकिएको छ। उनले भने, ‘महाकाली नदीमा पानीको सतह बढेको छ। हालको लागि काम रोकिएको छ। दुई दशमलव ८ किलोमिटर नदी नियन्त्रणको काम गर्नुछ। नदीको बाहउ पनि महेन्द्रनगर तिर छ। बिचबाट पानी बगाउने र नदी नियन्त्रणको काम आगामी आर्थिक वर्षमा पनि हुन्छ।’

पुलको उत्तर पट्टि १ वर्ग किलोमिटरभन्दा ठूला २ वटा पोखरी र दक्षिणपट्टि सुन्य दशमलव ३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण गरिदैछ। उत्तरपट्टिको तालमा ६ वटा आइसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टका रूपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ। २०८० साउन मसान्त सम्ममा पोखरी निर्माणको काम पूरा गर्नुपर्ने सम्झौता भएको थियो। तर, पोखरीको काम जारी हरेको छ। तीन अर्ब २७ करोड ९३ लाख ४ सय ९१ रुपैयाँमा पोखरी निर्माणको सम्झौता गरिएको थियो। तर, पुनर्मूल्याङ्कन गर्दा तीन अर्ब २४ करोड २५ लाख रकम पुगेको थियो। दोस्रो पटक केही सामान थप्नुपर्ने भएपछि पुनर्मूल्याङ्कन गर्दा तीन अर्ब ६६ करोड ९ लाख भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार