बैतडी । तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला आज बैतडीमा मृत फेला परेकी छन्। दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोलीले घटनास्थलको कार्य गरिरहेको प्रहरीले जनाएको छ।
यही असार ८ गते घरबाट हराएकी हेमन्ती आज फेला परेकी हुन्। मृत भेटिएकी महिला विवाहित रहेकी खुल्न आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।